आगामी बर्ष अमेरिकामा एकजनालाई पनि शरण नदिने तयारीमा ट्रम्प प्रशासन


प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार

अक्टोबरदेखि सुरु हुने आगामी आर्थिक बर्ष २०२० मा अमेरिकामा एकजना पनि शरणार्थी नभित्राउने तयारीमा ट्रम्प प्रशासन लागेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, डिपार्टमेन्ट अफ स्टेट, पेन्टागन लगायतका एजेन्सीका अधिकारीहरुसँगको बैठकमा आगामी आर्थिक बर्षमा अमेरिकामा शरणार्थी नभित्राउने सन्दर्भमा छलफल भएको हो ।

अमेरिकी सिमाक्षेत्रमा आएर शरण लिनमा नयाँ प्रावधानहरु थपिएको सन्दर्भमा शरणार्थी कार्यक्रममा पनि रोक लगाउन लागिएको हो । उक्त बैठकको विस्तृत समाचार पोलिटिकोले प्रकाशित गरेको छ ।

बैठकमा ह्वाइट हाउसका अध्यागमन सल्लाहकारले आगामी आर्थिक बर्षमा शरणार्थी संख्यामा जिरोमा झार्न सुझाव दिएपनि होमल्याण्ड सेक्युरिटीका अधिकारीले भने ३ हजारदेखि १० हजारको संख्यामा सिमित गर्न सुझाव दिएका थिए ।

विभिन्न एजेन्सीहरुले अगस्त १ सम्म आफ्ना सुझावहरु दिएपछि आर्थिक बर्ष २०२० सुरु हुनुभन्दा अगाडि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले संख्याबारे अन्तिम निर्णय लिने जनाइएको छ । चालु आर्थिक बर्ष जुन अन्त्यसम्ममा अमेरिकाले २१ हजार शरणार्थीहरु भित्राइसकेको छ ।

सन् २०१८ मा ट्रम्प प्रशासनले बार्षिक शरणार्थी कोटा ४५ हजारमा सिमित गरेपनि २३ हजारमात्र शरणार्थी अमेरिका भित्राएको थियो । आर्थिक बर्ष २०१७ मा भने बार्षिक शरणार्थी कोटा १ लाख १० हजार रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com