अमेरिकी ‘नागरिकता – अन्तरवार्ता’ को प्रश्नप्रणालीमा परिवर्तन सन् २०२० को डिसेम्बरमा लागु गरिने


प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार

अमेरिकामा ट्रम्प प्रशासनले अमेरिकी नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा परिवर्तन गर्न लागेको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तनको तयारी गरेको हो ।

गत मे महिनामा युएससीआईएसका निर्देशकले नागरिकताका लागि लिइने परीक्षामा पुनरावलोकनको एउटा मेमोमा हस्ताक्षर गरेका थिए । सम्भावित नयाँ नागरिकहरुलाई अमेरिकी नागरिकताको अर्थ बुझाउन परीक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले जनाएका छन् ।

सन् २०१८ को डिसेम्बरमा युएससीआईएसले अमेरिकी परीक्षा पुनरावलोकन समुह बनाएको थियो । उक्त समुहले अहिले नागरिकताका लागि सोधिने प्रश्नहरुको पुनरावलोकन गरिरहेको युएससीआईएसले जनाएको छ । नागरिकताको परीक्षामा अँग्रेजी बोल्ने परीक्षणको पनि पुनरावलोकन भइरहेको जनाइएको छ ।

नयाँ परीक्षा प्रणाली सन् २०२० को डिसेम्बर वा सन् २०२१ को जनवरीसम्म लागु गरिने युएससीआईएसले लक्ष्य लिएको छ । अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँगे्रजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी नागरिकताका लागि विभिन्न १ सय वटा प्रश्नहरुमध्ये अन्तरवार्ताका क्रममा १० वटा प्रश्नहरु सोधिन्छ । जसमध्ये आवेदकले ६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने हुन्छ । अमेरिकी सरकार, अमेरिकाको इतिहास र भुगोल, बिदा लगायतका अमेरिकाकाबारेमा प्रश्नहरु तयार गरिएको हुन्छ । सन् २००८ मा प्रश्नावलीको अन्तिमपटक पुनरावलोकन गरिएको थियो ।

अमेरिकामा हरेक बर्ष हजारौं आप्रवासीहरुले अमेरिकी नागरिकता प्राप्त गर्दै आएका छन् । गतबर्ष युएससीआईएसले झण्डै साढे ७ लाखलाई अमेरिकी नागरिकता प्रदान गरेको थियो । जुन विगत ५ बर्षकै सबैभन्दा उच्च हो ।

अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com