अमेरिकामा अध्यागमन छापा : हल्लामात्रै बढी


प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार

अमेरिकामा आइतबारदेखि अध्यागमनले कागजपत्रविहिनहरुलाई नियन्त्रणमा लिनका लागि सुरु गरिएको भनिएको छापा हल्लामात्रै बढी भएको सावित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइसको छापा आइतबारदेखि सुरु भएको बताएका छन् तर आइसको छापामा खासै धेरै व्यक्ति पक्राउ परेका खबरहरु आएका छैनन् ।

आइसको छापाको खबरले अमेरिकामा रहेका कागजपत्रविहिनहरु त्रसित त भएका छन् । तर राजनीतिक उद्देश्यबाट प्रेरित रहेको भनिएको यो छापाबाट आइसले अहिलेसम्म खास उपलब्धि हासिल गर्न सकेको देखिएको छैन ।

अहिलेसम्म आइसले न्युयोर्कमा छापामार्ने ८ वटा प्रयास गरेको र कुनैमा पनि सफल हुन नसकेको न्युयोर्कका मेयर बिल डे ब्लाजिओले बताएका छन् । न्युयोर्क सिटीका विभिन्न स्थानमा शनिबार नै ४ स्थानमा आइसले छापा मारेको थियो । त्यस्तै मंगलबार २ स्थानमा र बुधबार एक स्थानमा छापा मारेपनि कुनै पनि स्थानमा सफल हुन नसकेको जनाइएको छ ।

न्युयोर्कका सनसेट पार्क, हार्लम, मिडउड, फार रकवे र बे रिजमा आइसले छापा मारेको थियो । तर कसैलाई पक्राउ गर्न सफल भएन । राष्ट्रपति ट्रम्पले हजारौं कागजपत्रविहिनलाई देशनिकालाका लागि छापामार्ने धम्की दिएपछि न्युयोर्कमा रहेका कागजपत्रविहिनहरु त्रसित बनेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com