अमेरिकामा मंगलबारदेखि परिवर्तन गरिएको एसाइलमको नियमबिरुद्ध अदालतमा मुद्दा


प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार

अमेरिकामा ट्रम्प प्रशासनले मंगलबारदेखि लागुहुने गरी परिवर्तन गरेको एसाइलमको नियमबिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । द अमेरिकन सिभिल लिबर्टी युनियनले बुधबार क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरेको हो ।

मंगलबारदेखि लागु हुने गरी सिमाक्षेत्रबाट विना भिसा प्रवेश गरेर अमेरिकामा एसाइलम गर्नका लागि अमेरिका आउने क्रममा बाटोमा पर्ने कुनै देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको हुनुपर्ने भएको छ । ट्रम्प प्रशासनले एसाइलमका नियममा कडाई गर्ने क्रममा यो नयाँ नियम ल्याउन ल्याएको हो । यो नियम मंगलबार नै फेडरल रजिस्टरमा प्रकाशित भएको छ । र मंगलबारदेखि नै कार्यान्वयनमा आएको छ ।

डिपार्टमेन्ट अफ जस्टिस र होमल्याण्ड सेक्युरिटीका तर्फबाट ल्याइएको संयुक्त अन्तरिम अन्तिम नियममा एसाइलमका लागि योग्य हुनका लागि नयाँ प्रावधानहरु थपिएको छ । एसाइलम आवेदकले अमेरिका आउने क्रममा बाटोमा पर्ने तेश्रो मुलुकमा वा आफ्नो मुलुक छाडेपछिको अर्को मुलुकमा एसाइलम दावी नगरेको र अस्वीकृत नभएको प्रमाण पेश नगरेको खण्डमा त्यस्तो व्यक्ति अमेरिकामा एसाइलमका लागि अयोग्य हुने भएको छ ।

उदाहरणका लागि कुनै नेपाली अमेरिका आउनुभन्दा अगाडि अर्को कुनै देशमा बसेको छ ,र त्यहाँ एसाइलम दावी नगरी अमेरिकाको दक्षिणी सिमाक्षेत्रमा आएर एसाइलम खोजेको छ भने त्यस्तो व्यक्ति एसाइलमका लागि अयोग्य हुनसक्नेछ । त्यस्तै अमेरिका आउने क्रममा मेक्सिको, ग्वाटेमाला, वा पानामा लगायत कुनै मुलुक हुँदै आएको खण्डमा त्यो मुलुकमा एसाइलमका लागि आवेदन दिएको हुनुपर्नेछ ।

बाटोमा पर्ने देशमा एसाइलम दावी नगरेको तर मानव तस्करीको शिकार भएको प्रमाणित गर्न सकेको खण्डमा पनि अमेरिकी सिमाक्षेत्रमा एसाइलमका लागि योग्य हुनसक्नेछ । त्यस्तै सन् १९५१ को शरणार्थी सम्बन्धि राष्ट्संघीय महासन्धीमा भाग नलिएको कुनै देश हुँदै अमेरिका आएको आप्रवासी पनि अमेरिकामा एसाइलमका लागि योग्य हुनसक्नेछ ।

जुलाई १६ वा त्यसपछि अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम गर्ने व्यक्तिका हकमा यो नियम लागु हुने जनाइएको छ । यो नियमले अब अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम गर्नका लागि लगभग असम्भव बनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com