अन्तराष्ट्रिय कानुनको धज्जी उडाउँदै भारतले दशगजा मै बसाल्यो बस्ती !


प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार

सिरहाको लहानदेखि करिब १८ किलोमिटर दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दसगजा क्षेत्रभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दसगजाभित्रै बस्ती समेत बसाइएको छ ।

अन्तराष्ट्रिय कानुनअनुसार दसगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन । दसगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ । प्रवेशद्वार उत्तरतर्फ दसगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन् ।

जग्गा खाली रहेकाले घर बनाएर बसेको भारतीय नागरिक अजय देवले बताए । ‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दसगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं ।’ आफूहरू वर्षौंदेखि त्यहीँ बसिरहेको बताउँदै उनले सबै गरी करिब १२ वटा घर बनेको जानकारी दिए । यहाँ अधिकांश सुकुम्बासीको बसोबास छ ।

भारतीय पक्षले साइकल, मोटरसाइकल र चारपांग्रे सवारी नेपालतर्फ पार्किङ गर्दा यताका व्यापारीले सास्ती भोग्नुपरेको यादवले सुनाए । सुरक्षा स्रोतका अनुसार भारतको निकटवर्ती सहर जयनगरमा दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा नेपाल पक्षले सीमाछेउका मदिरा पसल हटाउने तथा भारतीय पक्षले ठाडीसँग जोडिएको दसगजाबाट भन्सार कार्यालय हटाउने सहमति भएको थियो ।

नेपाली सीमाछेउका मदिरा पसल हटाइए पनि भारतीय पक्षले भन्सार कार्यालय अझै हटाएको छैन । भारतीय भन्सारका अधिकारीले भने स्थायी संरचना नभई व्यापारिक कारोबार र जाँचमा सहजताका लागि तत्काललाई छाप्रोबाट काम चलाउने गरिएको बताउँदै आएका छन् । नेपालपट्टिका भन्सार प्रमुख उमेश भट्टराईले दुई देशको सीमा र कूटनीतिका कुरा भएकाले आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com