अर्को देशमा एसाइलम गरेर अस्वीकृत नभएको व्यक्तिले अमेरिकामा एसाइलम गर्न नपाउने


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

अब सिमाक्षेत्रबाट विना भिसा प्रवेश गरेर अमेरिकामा एसाइलम गर्नका लागि अमेरिका आउने क्रममा बाटोमा पर्ने कुनै देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको हुनुपर्ने भएको छ । ट्रम्प प्रशासनले एसाइलमका नियममा कडाई गर्ने क्रममा यो नयाँ नियम ल्याउन ल्याएको हो ।   यो नियम मंगलबार फेडरल रजिस्टरमा प्रकाशित भएको छ । र मंगलबारदेखि नै कार्यान्वयन भएको छ ।

डिपार्टमेन्ट अफ जस्टिस र होमल्याण्ड सेक्युरिटीका तर्फबाट ल्याउन लागिएको संयुक्त अन्तरिम अन्तिम नियममा एसाइलमका लागि योग्य हुनका लागि नयाँ प्रावधानहरु थपिएको छ । एसाइलम आवेदकले अमेरिका आउने क्रममा बाटोमा पर्ने तेश्रो मुलुकमा वा आफ्नो मुलुक छाडेपछिको अर्को मुलुकमा एसाइलम दावी नगरेको र अस्वीकृत नभएको प्रमाण पेश नगरेको खण्डमा त्यस्तो व्यक्ति अमेरिकामा एसाइलमका लागि अयोग्य हुनसक्ने भएको छ ।

उदाहरणका लागि कुनै नेपाली अमेरिका आउनुभन्दा अगाडि अर्को कुनै देशमा बसेको छ ,र त्यहाँ एसाइलम दावी नगरी अमेरिकाको दक्षिणी सिमाक्षेत्रमा आएर एसाइलम खोजेको छ भने त्यस्तो व्यक्ति एसाइलमका लागि अयोग्य हुनसक्नेछ । त्यस्तै अमेरिका आउने क्रममा मेक्सिको, ग्वाटेमाला, वा पानामा लगायत कुनै मुलुक हुँदै आएको खण्डमा त्यो मुलुकमा एसाइलमका लागि आवेदन दिएको हुनुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाटोमा पर्ने देशमा एसाइलम दावी नगरेको तर मानव तस्करीको शिकार भएको प्रमाणित गर्न सकेको खण्डमा पनि  अमेरिकी सिमाक्षेत्रमा एसाइलमका लागि योग्य हुनसक्नेछ । त्यस्तै सन् १९५१ को शरणार्थी सम्बन्धि राष्ट्संघीय महासन्धीमा भाग नलिएको कुनै देश हुँदै अमेरिका आएको आप्रवासी पनि अमेरिकामा एसाइलमका लागि योग्य हुनसक्नेछ ।

जुलाई १६ वा त्यसपछि अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम गर्ने व्यक्तिका हकमा यो नियम लागु हुने जनाइएको छ । यो नियमले अब अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम गर्नका लागि लगभग असम्भव बनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com