पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता अझै बाँडिएन


प्रकाशित मिति : फाल्गुन १, २०७३ आईतबार

चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालू आर्थिक वर्ष ०७३-७४ को पहिलो किस्ताको सामाजिक सुरक्षा भत्तासमेत अझै पाउन सकेका छैनन् ।सरकारले नगरपालिका क्षेत्रमा चालू आर्थिक वर्षदेखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । तर, बैंकमार्फत भत्ता वितरण गर्ने अभ्यास थालिए दोस्रो किस्ता वितरण गर्ने वेला हुँदासमेत चौरजहारीमा पहिलो किस्ता नै वितरण गरिएको छैन । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने एक हजार ६९ जना रहेका छन् ।

‘अघिल्लो वर्षतिर समयमै भत्ता पाउँथ्यौँ,’ चौरजहारी–७ का ७२ वर्षीय नरबहादुर खत्रीले भने, ‘यो वर्ष भने यति समय बितिसक्दा पनि भत्ता पाइएको छैन ।’ उनले पटक–पटक बैंकमा गए पनि भत्ता नपाएको बताए । सरकारले वृद्धवृद्धा, एकल महिला, अपांगता भएकालगायतलाई सामाजिक सुरक्षा भत्ता चौमासिक रूपमा वितरण गर्ने गरेको छ ।

आर्थिक वर्ष सुरु भएको सात महिना हुँदासमेत पहिलो किस्ताकै सामाजिक सुरक्षा भत्ता नपाउँदा लक्षित वर्गलाई चिन्ताले पिरोल्न थालेको छ । ‘चिया खाने र एकसरो कपडा फेर्नेसम्म पैसा छैन,’ चौरजहारी–७ की ८२ वर्षीया कली डाँगीले भनिन्, ‘सरकारले उपलब्ध गराउने गरेको भत्ता समयमै नपाउँदा थप समस्या भएको छ ।’

उनले लामो समयसम्म भत्ता पाउन नसक्दा अब भत्ता नपाउने हो कि भन्ने चिन्ता लाग्न थालेको बताइन् । भत्ताकै भरमा स–साना आवश्यकता पूरा गर्दै आएका ज्येष्ठ नागरिकलगायतका लक्षित वर्ग समस्यामा परेका छन् ।

नगरपालिका कार्यालयले बैंकमार्फत भत्ता वितरण गर्ने अभ्यास थालेपछि समयमै लक्षित वर्गले भत्ता पाउन नसकेका हुन् । ‘एक महिनासम्म बैंकमा खाता खोल्नै समय लाग्यो,’ चौरजहारी नगरपालिकाका कार्यकारी अधिकृत महेशकुमार गुरुङले भने, ‘त्यसपछि मन्त्रालयमा इन्ट्री गर्नुपर्ने भएकाले भत्ता वितरणमा ढिलाइ भएको हो ।’

बैंकमा पैसा जम्मा भइसकेको भन्दै उनले केही सामान्य कुरा मिलाएपछि एक साताभित्रै सबैको खातामा पैसा जम्मा गरिने बताए । उनले नगरपालिकामा दरबन्दीअनुसार कर्मचारी नहुँदा पनि समस्या भएको बताए । कार्यकारी अधिकृत गुरुङका अनुसार कार्यालयमा २४ जनाको दरबन्दी रहे पनि अहिले नौजना मात्र कर्मचारी कार्यरत छन् । नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com