अमेरिकामा कागजपत्रबिहिनहरुको काम गर्ने स्थल र घरमा इमिग्रेशनको छापा


प्रकाशित मिति : माघ २९, २०७३ शनिबार

राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २६ को कार्यकारी आदेश कार्यान्वयन गर्दै अमेरिकामा सरकारका संघीय एजेण्टहरुले कागजपत्रबिहिनहरुलाई पक्राउ गर्नका लागि छापामार्न सुरु गरेका छन् । बिहिबार र शुक्रबार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुले कम्तीमा ६ वटा राज्यमा छापा मारेर कैयन कागजपत्रबिहिन आप्रवासीहरुलाई पक्राउ गरेको अधिकारवादीहरुलाई उद्दृत गर्दै वासिंटन पोष्टले समाचार प्रकाशित गरेको छ । पक्राउ पर्नेहरुमध्ये अधिकांश जवान पुरुषहरु रहेको जनाइएको छ ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले छापामार्न थालेपछि कागजपत्र हुनेहरुलाई साथमा नागरिक भएको प्रमाण, ग्रिनकार्डको फोटोकपी वा आईडी राख्न तथा कागजपत्र नहुनेहरुलाई सावधानी अपनाउन कानुनविदहरुले सुझाव दिएका छन् ।

कुनै अपराधमा संलग्न नरहेका कागजपत्रबिहिन आप्रवासीहरुलाई पनि निशाना बनाइएको जनाइएको छ । ट्राफिक स्टपहरु र चेकप्वाइन्टमा समेत इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुले गतिविधि तीब्र पारेको जनाइएपनि आइसका अधिकारीहरुले पनि कानुन कार्यान्वयनका क्रममा चेकप्वाइन्टको प्रयोग नगरिने भन्दै त्यसको खण्डन गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाबाट अपराधमा संलग्न ३० लाख कागजपत्रबिहिन आप्रवासीहरुलाई देशनिकाला गर्ने प्रतिबद्धता जनाएअनुरुप इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले गतिविधि तीब्र पारेको हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले एटलान्टा, लस एन्जलस र अरु दुईवटा शहरमा काम गर्ने स्थान र घरहरुमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले कागजपत्रबिहिनमाथि छापा मारेको पुष्टी गरेका छन् । जसलाई उनले अधयागमन कानुनको कार्यान्वयनका क्रममा गरिएको नियमित गतिविधि भनेका छन् ।

बिहिबार र शुक्रबार इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका अधिकारीहरुले क्यालिफोर्नियाको भिस्टा, पोमोना र कम्पटन, टेक्सासको अष्टिन, डलास र फ्लुजरभिल, भर्जिनियाको अलेक्जान्द्रिया, अन्नानडेल, नर्थ क्यारोलिनाको चार्लोट, बर्लिंगटन, फ्लोरिडाको प्लान्ट सिटी, न्युयोर्कको हड्सन भ्याली, कन्सासको विचिटा लगायतका क्षेत्रमा छापामारेका छन् । नर्थ क्यारोलिना र अष्टिनमा चेकप्वाइन्टमा आकस्मिक जाँच गरेर आईडी मागेको पनि जनाइएको छ ।

आप्रवासीका लागि सुरक्षित शहर भनेर चिनिने स्यांचुअरीसिटीमा ती सिटीहरुका नीतिलाई चुनौतीदिनका लागि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले छापा मार्न थालेको जनाइएको छ । संघीय अध्यागमन अधिकारीले यसरी छापा मारेर कतिजनालाई नियन्त्रणमा लिइयो भन्नेबारे सार्वजनिक गर्न अस्वीकार गरेका छन् । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीले अपराधीलाई निशाना बनाएर छापा मार्ने क्रममा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले कागजपत्रविहिन अरुलाई पनि नियन्त्रणमा लिएको भने पुष्टी गरेका छन् ।

कतिपय सिटीहरुमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका अधिकारीहरुले सडकको छेउमा वा चेकप्वाइन्टमा बसेर परिचयपत्र वा अमेरिकी नागरिकताको प्रमाण माग्न थालेको वासिंटन पोष्टले जनाएको छ । प्रभावित परिवारहरुलाई आफूहरु यथाशीघ्र कानुनी सहायताका लागि प्रयास गरिरहेको ग्रासरुट लिडरसिपका कार्यकारी निर्देशक बब लिबलले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com