आइसको छापा आइतबारदेखि, निशानामा को ?


प्रकाशित मिति : असार २६, २०७६ बिहीबार

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले देशब्यापी रुपमा हजारौं कागजपत्रविहिनहरुलाई पक्राउ गरेर देशनिकाला गर्नका लागि छापा सुरु गर्ने भएको छ । होमल्याण्ड सेक्युरिटीका दुईजना कार्यरत र एकजना पूर्व अधिकारीको हवाला दिदै यो रिपोर्ट आजको न्युयोर्क टाइम्समा प्रकाशित भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोग गरेको उक्त छापा जुनको अन्तिम साता सुरु हुने बताइएपनि स्थगित भएको थियो । आइतबारदेखि सुरु हुने छापा केहीदिनसम्म चल्ने जनाइएको छ ।
पहिले नै देशनिकालाको आदेश पाइसकेकाहरुलाई पक्राउ गरेर फिर्ता पठाउने छापाको उद्देश्य रहेको बताइएपनि छापाका क्रममा निशानामा नरहेका कोही कागजपत्रविहिनहरु फेला परेमा पक्राउ गर्ने जनाइएको छ ।

नियन्त्रणमा लिइने परिवारका सदस्यहरुलाई सकेसम्म टेक्सास र पेन्सिलभेनियामा रहेका पारिवारिक हिराशतहरुमा राखिने जनाइएको छ । हिराशतको अभावका कारण कतिपयलाई होटलका कोठामा राखिने र देशनिकालाका लागि आवश्यक कागजात तयार भएपछि फिर्ता पठाइने जनाइएको छ । देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेका कम्तीमा २ हजार परिवार यो छापामा निशानामा रहेको जनाइएको छ ।

अदालतमा उपस्थीत हुने आदेश दिइएका तर उपस्थीत नभएकाहरु पनि छापाको निशानामा रहेको जनाइएको छ । यो छापा अमेरिकाका विभिन्न १० वटा शहरमा संचालन हुने जनाइएको छ । हालचालै सिमा पार गरेर अमेरिका आएका कागजपत्रविहिन परिवारहरुलाई निशानामा पारिएको छ ।

यसैबीच युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले आइसको छापा निश्चितरुपमा सुरु हुने बताएका थिए । बुधबार ह्वाइट हाउसमा पत्रकारहरुसँग बोल्दै उनले छापा कहिलेदेखि सुरु हुने भन्नेबारे आफूले बताउन नमिल्ने बताएका थिए ।

उनले देशनिकालाको आदेश पाएर पनि अमेरिकामा नै बसिरहेकाहरु १० लाखको हाराहारीमा रहेको र उनीहरुको ठेगाना आफूहरुलाई थाहा भएको बताएका थिए । आइसको छापाको समाचारले यतिबेला अमेरिकामा रहेका लाखौं कागजपत्रविहिनहरु त्रसित रहेका छन् ।

आइसको मुख्य निशानामा अमेरिबाट देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेका नेपालीहरु पनि पर्नेछन् । जुन झण्डै २ हजारको संख्यामा रहेको अनुमान गरिएको छ । उनीहरुमध्ये झण्डै १५ सयलाई भने टीपीएसले संरक्षण प्रदान गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com