गैरकानुनी सिमा पार गर्ने एकसयमा १४ लाई एसाइलम, अमेरिकी सरकारबाट रोचक तथ्य सार्वजनिक


प्रकाशित मिति : असार २५, २०७६ बुधबार

अमेरिकी सरकारले सिमाक्षेत्रबाट विना भिसा प्रवेश गरेर एसाइलम दावी गर्नेहरुबारे रोचक तथ्यांक सार्वजनिक गरेको छ । आर्थिक बर्ष सन् २००८ देखि सन् २०१९ को अप्रिलसम्मको तथ्यांकमा आधारित रहेर एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

हरेक १ सय जना आप्रवासीलाई गणना गरेर उक्त तथ्यांक तयार गरिएको छ । तथ्यांक अनुशार क्रेडिबल फियर अन्तरवार्ता दावी गर्ने आप्रवासीहरुमध्ये ८१ जनाको दावी युएससीआईएसले स्वीकृत गर्ने गरेको छ । भने जम्मा १९ को क्रेडिबल फियर अस्वीकार गर्ने गरिएको छ ।

ती १९ मध्ये ७ जनाको मुद्दा बन्द गरेर तीब्र गतिको देशनिकालामा राख्ने गरिएको छ । ३ जनाको मुद्दा आवेदकले अध्यागमन न्यायाधिससमक्ष पुनरावलोकनका लागि अनुरोध नगर्ने जनाइएको छ । ९ जनाको मुद्दा अध्यागमन न्यायाधिसले पुनरावलोकन गरेर तीमध्ये २ जनाको क्रेडिबल फियर स्वीकार गरिदै आएको छ ।

तीन २ जना र सुरुमा स्वीकृत गरिएका ८१ गरी ८३ जनाको मुद्दा अध्यागमन अदालतमा पुग्ने गरेको छ । जसमध्ये ४४ जनालेमात्र एसाइलम फाइल गर्दै आएका छन् । तीमध्ये १४ जनाको एसाइलम स्वीकृत हुने गरेको छ भने ३० जनाको एसाइलम अस्वीकृत हुने गरेको छ ।

यो तथ्यांकमा सिमाक्षेत्रबाट विना भिसा प्रवेश गरेर क्रेडिबल फियर अन्तरवार्ता दिनेहरुको विवरणमात्र समावेश गरिएको छ । कुनै आप्रवासी गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेपछि एसाइलम अफिसरले उसको एसाइलम दावी प्रारम्भिक रुपमा वजनदार भए नभएको चेक गर्न क्रेडिबल फियर अन्तरवार्ता लिने गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com