रिपब्लिकन र डेमोक्र्याट मिलेर हरेक देशको ग्रिनकार्ड कोटा खारेज गर्ने बिल पारित


प्रकाशित मिति : असार २५, २०७६ बुधबार

२२४ जना डेमोक्रेटिक सांसदहरु र १४० जना रिपब्लिकन सांसदहरु मिलेर विश्वका हरेक देशका लागि तय गरिएको ग्रिनकार्डको कोटा खारेज गर्ने विधेयक पारित गरेका छन् । डेमोक्रेटिक सांसदले ल्याएको उक्त विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गरिएको हो ।

यो बिल सिनेटबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेमा हरेक देशका लागि तोकिएको ग्रिनकार्डको ७ प्रतिशतको कोटा समाप्त हुनेछ । यो विधयेक लागु भएको पहिलो बर्ष ८५ प्रतिशत ग्रिनकार्ड चाइनिज र भारतीयका लागि जारी गरिनेछ । दोश्रो र तेश्रो बर्ष उक्त प्रतिशत ९० सम्म पुग्ने अनुमान गरिएको छ ।

रोजगारमा आधारित ग्रिनकार्डको प्रत्येक देशको कोटा खारेज गर्ने उक्त विधेयकले परिवारमा आधारित ग्रिनकार्डको हरेक देशको कोटा ७ प्रतिशतबाट १५ प्रतिशत बनाउनेछ । दुबै दलका सांसदहरुको समर्थन रहेका कारण यो विधेयक सिनेटबाट पनि पारित हुनेछ ।

यो विधेयक पारित भएर लागु भएमा नेपाल जस्ता देशहरुको ब्याकलग अझ बढ्नेछ ।

यो विधेयकले ग्रिनकार्डको बार्षिक कोटालाई भने बढाउने छैन । अमेरिकी सरकारले रोजगारमा आधारित ग्रिनकार्डको कोटा बार्षिक १ लाख ४० हजार तोकेको छ भने परिवारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा ( अमेरिकी नागरिकको दम्पत्ति, छोराछोरी र बाबुआमा बाहेक) २ लाख २६ हजार रहेको छ । अमेरिकामा बार्षिक आप्रवासीहरुको कोटा ६ लाख ७५ हजार रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com