लण्डनको ट्रेनमा राखिएको नेपाल भ्रमण बर्षको विज्ञापनमा थाइल्याण्डको फोटो !


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

लण्डनको ट्रेन स्टेशनमा नेपाल भ्रमण बर्ष २०२० को प्रचारमा केही विज्ञापनहरु राखिएको थियो, जसमा नेपाल झल्काउने केही पोष्टरहरु राखिएका थिए ।

पोष्टरहरुमा नेपालका हिमालहरु, मन्दिरहरु, भिक्षुहरु देखाइएको थियो । त्यतीसम्म त ठीकै छ । तर त्यसरी राखिएको एउटा पोष्टरमा थाइल्याण्डको फोटो देखाइएको छ । जसका सामाजिक संजालहरुमा चर्को विरोध भएको छ ।

पूर्व शेरामिक प्रशिक्षक समेत रहेका गेरी वार्नलले सामाजिक सञ्जालमा लेख्दै लण्डनको ट्रेन स्टेशनमा नेपालको प्रवद्र्धनका लागि राखिएका विज्ञापनमा थाइल्याण्डका बुद्धमूर्ति र भिक्षुहरु देखाइनु हास्यास्पद रहेको बताएका छन् ।

अर्का एकजनाले ट्वीट गर्दै नेपाल पर्यटन बर्ष २०२० को प्रचारमा थाइल्याण्डको तस्वीर प्रयोग गरिनु लज्जास्पद रहेको भन्दै आलोचना गरेका थिए । तर उनले पछि उक्त विज्ञापन हटाइएकोमा प्रशंसा समेत गरेका छन् ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विज्ञापनमा कसरी थाइल्याण्डको तस्वीर राखियो भन्नेबारे आफूलाई थाहा नभएको र यसबारे आफूहरुले पर्यटन बोर्डलाई स्पष्ट पार्न भनेको बताएका छन् ।

पर्यटन बोर्डले भने पोष्टरका लागि आफूहरु उत्तरदायी नभएको बताएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले लण्डनमा गरिएको विज्ञापनमा आफूहरु संलग्न नरहेको बताएका छन् ।

विज्ञापनका पछाडि भ्रमण बर्ष २०२० को सचिवालय रहेको जोशीले बताएका छन् । उक्त सचिवालयको नेतृत्व सुरज बैद्यले गरेका छन् । लण्डनबाट एकजना डिजाइनरले फोटोहरु छानेर सचिवालयमा पठाएको र सचिवालयको स्वीकृतिपछि विज्ञापनमा राखिएको जनाइएको छ ।

सामाजिक सञ्जालमा चर्को विरोधपछि विज्ञापनमा राखिएको गलत तस्वीर परिवर्तन गरिएको छ ।

सबै तस्वीर जगन कार्कीको फेसबुकबाट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com