ग्रिनकार्डका लागि नक्कली विहे गरेको नेपाली युवाबाट स्वीकार, साढे २ लाख डलर जरिवाना र ५ बर्ष जेल हुनसक्ने


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

ग्रिनकार्डको लागि १३ हजार डलरमा नक्कली विहे गरेको अभियोगमा अमेरिकामा फन्दामा परेका नेपाली इलोभ श्रेष्ठले आफूले गरेको अपराध अदालतसमक्ष स्वीकार गरेका छन् । सोमबार अमेरिकी अदालतमा बयान दिदै २९ बर्षका श्रेष्ठले ग्रिनकार्डको लोभमा एक महिलालाई मोटो रकम तिरेको स्वीकार गरेका हुन् ।

क्यालिफोर्निया निवासी इलोभ श्रेष्ठले गतबर्षको समरमा एकजना महिलालाई १३ हजार डलर तिर्ने गरी विहे गरेको भन्दै अदालतमा मुद्दा चलिरहेको छ । नक्कली विवाहको अभियोग लागेका उनलाई अहिले ५ हजार डलर धरौटीमा रिहा गरिएको छ । उनले कतिबर्ष जेल सजाय भोग्ने भन्नेबारे अदालतले फैसला गर्न बाँकी रहेको छ ।

गत नोभेम्बरमा श्रेष्ठबिरुद्ध मुद्दा दायर गरिएपछि गत जनवरीमा उनलाई पक्राउ गरिएको थियो । ६ महिनाको भिजिटर भिसामा सन् २०१५ मा आएका श्रेष्ठलाई जनवरी ११ मा सान होजेको अदालतमा पेश गरिएको थियो । श्रेष्ठको अर्को सुनुवाई बुधबार हुने जनाइएको छ ।

होमल्याण्ड सेक्युरिटीको अनुसन्धानबाट गत जुन १ मा २८ बर्षकी मरिना मुसेरो नामकी महिलाले विवाहसम्बन्धी वेवसाइटमा रकम तिरेर ग्रिनकार्डका लागि विवाह गर्न चाहने व्यक्ति खोजेको भन्दै विज्ञापन हालेकी थिइन् ।

मरिना मुसेरो

त्यसपछि श्रेष्ठले जुन १३ मा उनलाई इमेलमार्फत सम्पर्क गरेको र श्रेष्ठले १३ हजार डलर तिर्ने सहमति भएपछि जुन २५ मा उनीहरुबीच विवाह भएको जनाइएको छ । अदालती कागजात अनुशार श्रेष्ठले मुसेरोलाई ३ हजार डलर तिरिसकेका छन् ।

मुसेरोले भने यसअगाडि नै अदालतसमक्ष जालसाजी विवाहको आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् । उनलाई पनि ५ बर्षको जेलसजाय तोकिएको थियो ।

श्रेष्ठलाई पनि ५ बर्षसम्मको जेलसजाय र साढे २ लाख अमेरिकी डलरसम्म जरिवानाको सजाय हुनसक्ने जनाइएको छ ।  श्रेष्ठ सजायपछि नेपाल देशनिकाला समेत हुनसक्ने जनाइएको छ । यद्यपी अदालतले उनको सजाय तोक्न भने बाँकी रहेको छ । उनले अपराध स्वीकारेकाले सजाय केही कम हुने अपेक्षा समेत गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com