मुम्बईमा  बन्धक बनाइएका ५ दलित किशोरको ९ महिनापछि उद्धार


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् ।

सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो ।

‘समाचार आएपछि तत्काल दिल्लीस्थित दूतावाससँग समन्वय गर्‍यौँ र उनीहरू बन्धक बनाइएको ठाउँ यकिन गरेपछि सकुशल उद्धार सम्भव भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले भनिन् ।

लहान–१३ सरस्वती गाउँका रवि महतोले मासिक १० हजार रुपैयाँसम्म कमाइ हुने काम दिलाउने आश्वासन दिएर भारत लगेको पीडितले बताएका छन् । उनीहरूसहित नौ किशोरलाई गत १० भदौमा महतोले मुम्बई पुर्‍याएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com