स्वतन्त्रता दिवशमा ७५ सय आप्रवासीहरुलाई प्रदान गरियो अमेरिकी नागरिकता


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

अमेरिकाको स्वतन्त्रता दिवसको अवशरमा झण्डै ७५ सय आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको युएससीआईएसले जनाएको छ । अमेरिकाको २४३ औं जन्मदिनको अवशरमा ११० वटा समारोहको आयोजना गरेर नागरिकता प्रदान गरिएको हो ।

सन् १७७६ मा जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्र स्वीकार गरिएको थियो । उक्त दिनलाई आधुनिक अमेरिकाको जन्मदिनका रुपमा मनाउने गरिन्छ ।

युएससीआईएसले जुलाई १ देखि जुलाई ५ सम्म स्वतन्त्रता दिवस विशेष नागरिकता सपथ समारोहहरु गरेको थियो ।

गतबर्ष स्वतन्त्रता दिवसको अवशरमा झण्डै १४ हजार आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो भने सन् २०१७ मा झण्डै १५ हजारलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो ।

२४३ बर्ष अगाडि अमेरिकाका पूर्वजहरुले अमेरिका स्वतन्त्र भएको घोषणा गर्दै स्वतन्त्रताको घोषणापत्र जारी गरिएको थियो । त्यसैबेलादेखि अमेरिका एउटा सार्वभौमसत्ता सम्पन्न देशका रुपमा स्थापित भयो । जसले अमेरिकामा हरेक नागरिकलाई जीवन, स्वतन्त्रता र खुशीको खोजीका लागि अधिकार प्रदान गरेको थियो ।

त्यतीबेलादेखि नै विश्वभरबाट मानिसहरु स्वतन्त्रता र अवशरको खोजीमा अमेरिका आउन थाले । अमेरिकाले असंख्य आप्रवासीहरुलाई आफ्ना तटहरुमा स्वागत गर्न थाल्यो र तीनै आप्रवासीहरुले अमेरिकाको निर्माण गर्नुका साथै अमेरिकाको इतिहासलाई आकार दिए ।

सन् १७७६ मा अमेरिका तत्कालिन बेलायती साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । यही दिनको सम्झनामा हरेकवर्ष जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्वतन्त्रता दिवश मनाउने क्रममा अमेरिकाले हरेक वर्ष हजारौं योग्य आप्रवासीहरुलाई विशेष समारोहकाबीच नागरिकता प्रदान गर्ने कार्यक्रम गर्दै आएको छ ।

अमेरिकी नागरिकता लिने नेपाली झण्डै ४० हजार

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए । सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।

त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ८ रहेको थियो । त्यसयता पनि ७ हजार भन्दा धेरै नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com