देशनिकालाको आदेश नमान्नेलाई आइसले तोक्न थाल्यो प्रतिव्यक्ति ५ लाख डलरसम्म जरिवाना


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

अमेरिकाबाट देशनिकालाको आदेश नमान्ने एकजना आप्रवासीलाई युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले झण्डै ५ लाख डलर जरिवाना तोकेको छ । मेक्सिकोबाट १६ बर्षको उमेरमा आफ्ना पितासँग अमेरिका आएकी ४२ बर्षीया एडिथ स्पीनल मोरेनोलाई आइसले देशनिकालाको आदेश नमानेको भन्दै जरिवाना तोकेको हो ।

आइसका तर्फबाट गत जुन २५ मा पठाइएको पत्रमा ४ लाख ९७ हजार ७७७ अमेरिकी डलर जरिवाना तोकिएको छ । सन् २०१६ को अक्टोबर २८ मा उनलाई अमेरिकी अध्यामगन अदालतले देशनिकालाको आदेश दिएको थियो । सन् २०१७ को सेप्टेम्बर २५ मा उनले आइससमक्ष आफ्नो फर्कने टिकट पेश गर्नुपर्ने र अक्टोबर १० मा अमेरिका छाड्नुपर्ने सहमति भएको थियो ।

तर उनी आइसले तोकेको समयमा अमेरिका नछाडी ओहायोमा रहेको एउटा चर्चमा शरण लिन पुगिन् । सन् २०१८ को फरबरी २३ मा उनले आइसले लगाइदिएको जीपीएस तोडेर फ्याकेको आइसले जनाएको छ । त्यसपछि मार्च २० मा आइसले उनलाई यसबारे रिपोर्ट गर्न निर्देशन दिएपनि उक्त निर्देशन अटेरी गरेको आइसको आरोप छ ।

देशनिकालाको आदेशपछि पनि जानाजान अमेरिका नछाडेको भन्दै उनलाई त्यती ठूलो रकम जरिवाना तोकिएको हो । २६ बर्षदेखि अमेरिकामा बस्दै आएकी उनका तीनजना छोराछोरीहरु रहेका छन्, जसमध्ये दुईजना अमेरिकाका नागरिक हुन् । उनले आफ्नो पूरै जीवन अमेरिकामा बिताएको र मेक्सिको फिर्ता जान नसक्ने बताएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com