अमेरिकी अध्यागमन हिराशतमा आप्रवासीहरु शौचालयको पानी खान बाध्य


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेर हिराशतमा राखिएकी एक महिलाले आफूहरुलाई शौचालयको पानी खान बाध्य पारिएको दावी गरेकी छिन् । सोमबार तीनजना अमेरिकी सांसदहरुले सिमा सुरक्षा गस्तीका हिराशतको भ्रमण गर्दा आप्रवासी महिलाहरुलाई शौचालयको पानी खान भनिएको खुलासा भएको हो ।

न्युयोर्ककी सांसद अलेक्जान्द्रिया ओकासिया कोर्टेज सहितको टोलीले सोमबार टेक्सासका एल पासो र क्लिन्टका हिराशतहरुको भ्रमण गरेका थिए । हिराशतमा राखिएकाहरुलाई साबुन , टुथब्रस, उचित खाना र पानीको बन्दोबस्त नभएको पाइएको हो ।

एकजना महिलालाई सरकारी अधिकारीहरुले अनुचित समयमा उठाएर वेश्या भनेको, १५ देखि २० जना आमाहरुलाई एउटै सेलमा राखेर पानीको बन्दोबस्त समेत नगरिएको सांसदहरुको अवलोकनका क्रममा गुनासो प्राप्त भएको थियो । सांसद जोक्वीन क्यास्ट्रोका अनुशार हिराशतमा शौचालय भएपनि त्यहाँ पानी समेत थिएन ।

हिराशतको अवस्था अत्यन्तै दर्दनाक रहेको सांसदहरुले बताएका छन् । यसअगाडि पनि अध्यागमन हिराशतमा विभिन्न समस्या भएको भन्दै आलोचना हुदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com