स्वतन्त्रता दिवस जुलाई ४ मा कागजपत्रविहिनहरुलाई धरपकड गर्ने ट्रम्पको योजना


प्रकाशित मिति : असार १५, २०७६ आईतबार

अमेरिकाको स्वतन्त्रता दिवसको दिनमा नै कागजपत्रविहिनहरुलाई धरपकड गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । गतसातादेखि सुरु हुने भनिएको अध्यागमनको छापा दुईसाता पछाडि सारिएको ट्रम्पले बताएका थिए ।

अमेरिकी संसदमा अध्यागमनबारे कुनै सहमति कायम नभए अमेरिकाको जन्मदिन अर्थात् जुलाई ४ मा अमेरिकाको १० वटा शहरमा कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्न अध्यागमनले छापा सुरु गर्ने ट्रम्पले बताएका छन् । शनिबार जापानको ओसाकामा पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले अध्यागमन सहमति हुने कुरामा आफू आशावादी नरहेको समेत बताएका छन् ।

हाउस स्पीकर न्यान्सी पेलोसी र अन्य डेमोक्र्याटहरुको आग्रहमा जुन २२ मा हुने अध्यागमनको छापा पछाडि सारिएको ट्रम्पले बताएका थिए । अध्यागमन सहमतिका लागि कुनै चमत्कार नभएको खण्डमा जुलाई ४ देखि आइसको छापा सुरु हुने जनाइएको छ ।

आइसले अमेरिकाका १० मुख्य शहरहरु एटलान्टा, बाल्टिमोर, शिकागो, डेनभर, ह्युस्टन, लस एन्जलस, मायामी, न्युयोर्क र सान फ्रान्सिस्कोमा छापा मार्ने बताइएको छ । खासगरी देशनिकालाको आदेश पाइसकेका परिवारलाई पक्राउ गरेर अमेरिकाबाट फिर्ता पठाउनका लागि आइसको छापा केन्द्रीत रहने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com