‘रकेट डकेट’ : अदालतमा उपस्थीत नभएको झण्डै ११ हजार परिवारलाई देशनिकालाको आदेश


प्रकाशित मिति : असार १२, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजपत्रविहिन परिवारहरुलाई अमेरिकाबाट ब्यापक रुपमा देशनिकालाको घोषणा गर्नुअगाडि एसाइलम खोज्ने परिवारलाई देशनिकालाका लागि ट्रम्प प्रशासनका अधिकारीहरुले विभिन्न योजनाहरु बनाएको खुलासा भएको छ । अमेरिकामा पछिल्लो समयमा प्रवेश गरेका कागजपत्रविहिन परिवारलाई देशनिकालाका लागि तीब्र गतिको डकेट तयार गरेर यस्तो योजना बनाइएको हो ।

अमेरिकाका मायामी, ह्युस्टन, सान फ्रान्सिस्को र शिकागोका १० अध्यागमन अदालतमा रकेट डकेट तयार गरेर उनीहरुलाई तीब्र गतिको देशनिकालाको प्रकृयामा हालिएको हो । खासगरी अदालतले दिएको मितिमा अदालतमा उपस्थीत नहुनेहरुलाई यो प्रकृयामार्फत देशनिकालाको आदेश जारी गरिएको छ ।

मायामीको अध्यागमन अदालतले विगत ९ महिनामा त्यस्ता २३ सय केसहरुबारे निर्णय लिएकोमा लगभग ९० प्रतिशतलाई देशनिकालाको आदेश दिएको छ । देशब्यापीरुपमा भने १३ हजार ३ सय १३ मध्ये १० हजार ८ सय ७७ परिवारलाई अदालतमा उपस्थीति विना नै देशनिकालाको आदेश दिइएको छ ।

परिवारहरुले तीब्र गतिको मुद्दा छुटाउने धेरै कारणहरु हुनसक्ने कानुनविदहरु बताउँछन् । सुचना प्राप्त नगर्दा, हुलाकमै हराउँदा वा गलत ठेगानामा सुचना पठाइदा समेत त्यस्तो सुनुवाई छुट्ने गरेको छ । अध्यागमन कानुन अनुशार अदालतमा फाइलमा रहेको ठेगानामा त्यस्तो सुचना पठाइने भएपनि प्राप्त भए नभएको ट्रयाक गर्ने कुनै प्रणाली छैन ।

कतिपय आप्रवासीहरुले त सुनुवाईभन्दा एकदिनमात्र अगाडि वा सुनुवाईको मिति पछाडि समेत सुचना प्राप्त गर्ने गरेका छन् । कतिपय आप्रवासीले गलत भाषामा सुचना प्राप्त गर्दा पढ्न नसक्ने समस्या समेत रहेको छ । कैयन कागजपत्रविहिन परिवारले वकिल लिन नसक्दा समेत सुनुवाईको मिति छुटाउने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com