नेकपाको एकिकरण झनझन जटिल बन्दै !


प्रकाशित मिति : असार १२, २०७६ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकिकरण प्रक्रिया झनझन जटिल बन्दै गइरहेको छ । संगठनात्मक एकता नसकिएर लाखौंलाख नेता कार्यकर्ता भुमिकाविहिन भइरहेको बेला महाधिवेशनमा टुंगाउने भनिएको वेमौसमी वैचारिक बहसले एकता प्रक्रियाको बाँकी काम थप जटिल बनेको हो ।

पार्टी एकिकरण पछि तीन महिनामा पार्टीका सम्पूर्ण तह र जनवर्गीय संगठनको एकिकरण गरिसक्ने भनिएपनि एकवर्ष बितिसक्दा समेत नेकपा एकिकरणका सम्पूर्ण प्रक्रिया पुरा हुन सकेको छैन । बरु झनझन पार्टीभित्र असहमति र असमझदारी सतहमा देखिदै गएका छन् । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी निर्माण भएपनि कहिलेकाहीं सचिवालयबाहेक अरु संयन्त्र चलायमान छैनन् । पार्टीको निर्णय अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट भैरहको छ । कतिपय सवालमा यिनै दुई अध्यक्ष पनि दुईतिर देखिन्छन् ।

नेताहरु बेरोजगार छन् । संगठनात्मक अवस्था दिनप्रतिदिन रक्षात्मक बन्दै गइरहेको बेलामा नेकपाभित्र अहिले सैद्धान्तिक बहसको नाममा विषयान्तर गरेर एकता प्रक्रिया नै थप अलमलमा पार्ने प्रयत्न भइरहेको देखिन्छ । एकिकरण घोषणापश्चात माधवकुमार नेपालको संयोजकत्वमा विधान तथा प्रतिवेदन लेखन कमिटी बनाइएको थियो ।

उक्त कमिटीले तत्काललाई जनताको जनवाद कार्यदिशा मान्दै बाँकी विषय महाधिवेशबाट टुंग्याइने प्रतिवेदन पास गरेको थियो । नेकपाको राजनीतिक प्रतिवेदन त्यही हो । तर पछिल्लो समय फेरि कतिपय नेताहरुबाट पुरानै पार्टी सम्वद्ध सैद्धान्तिक धार देखाउन खोजेपछि नेताहरु एकअर्काप्रति सशंकित देखिएका छन् । विधान प्रतिवेदन लेखन कार्यदलका सदस्य समेत रहेका नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल वैचारिक विषय पूर्व सहमति अनुसार नै अघि बढाउनुपर्ने बताउँछन् ।

महाधिवेशमा छलफल गरेर टुंग्याउने भनिसकेको विषयलाई अहिले ल्याइनुले पार्टी एकिकरण प्रक्रियालाई असर पुराउने बताउंछन् अर्का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा ।

पार्टी एकिकरण पछि नेतृत्वको कार्यशैलीको सार्वजनिक रुपमै नेताहरुले टिकाटिप्पणी गरेकै छन् । दुई अध्यक्षबीचको लिखित सहमतिलाई बेमौसमी चर्चामा ल्याईंदा एकताप्रक्रियाको बाँकी काम झन जटिल बन्दै गएको छ ।

त्यसो त नेकपा भित्र सरकारले गर्ने काम कारबाहीप्रति पनि तिव्र असन्तुष्टि छ । सरकार र पार्टीको सम्बन्ध नभएको भन्दै सरकारको पार्टी भित्रैबाट विरोध छ । पार्टी नेतृत्व एकताप्रक्रियामा गम्भिर नभएको, गुटउपगुट र सिमित मान्छेको घेरामा रहेकाले एकताप्रक्रियाको बाँकी काम पुरा हुन नसकेको कतिपय नेताहरु बताउँछन् । अबसरको दुरुपयोग गर्दै नेतृत्व असफलताको बाटोमा हिडेको नेताहरु आरोप समेत लगाउंछन् ।

विभिन्न बाहानाबाजी र निहुंमा कतै अरु कसैको प्रभावमा परेर एकता प्रक्रिया नै डिरेल गर्न खोजिएको हैन भन्ने आशंका बढ्दो छ । भुमिकाविहिन भएका करिब ८ लाख नेता कार्यकर्ताको मनोभावना र आकांक्षा विपरित नेताहरु अघि बढे यसले स्वयम् नेताहरुको भविष्य मात्र होइन् सिंगो नेपाली कम्युनिष्ट आन्दोलन र देशकै भविष्यमा गम्भिर असर पर्नेछ । नेकपाका नेताहरुले बेलैमा ध्यान पुर्याउनु आवश्यक छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com