१५ थरीका बाजा बजाउँछन् बद्री पङ्गेनी तथा भगवान भण्डारीलाई चर्चित बनाउने रामपुरका टीकाराम


प्रकाशित मिति : असार ११, २०७६ बुधबार

पाल्पाको रामपुर निवासी टीकाराम ढकालसँग धेरै प्रकारका बाजा बजाउने कला भएर पनि त्यति चर्चामा भने हुनुहुन्न । गीतमा सङ्गीत भर्न धेरै थरीका बाजाको सङ्ग्रह गर्दै आउनुभएका उहाँको उमेर ५८ वर्ष पुगे पनि नयाँ बाजा बजाउने रहर अझै पनि मरेको छैन ।

स्याङ्जाको चापाकोट नगरपालिका साँखरबाट केही वर्षअघि बसाई सरेर रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा बस्दै आउनुभएका ढकाल हार्मोनियम, मुुरली, मोहलीबाजा, मादल, सहनाई, सारङ्गी, अक्टुप्याडलगायत थुप्रै बाजा बजाउन सक्ने भए पनि आफ्नो सीपअनुसारको पहिचान हुन नसकेको गुनासो गर्नुभयो ।

करीब १३ वर्षको उमेरदेखि गाई चराउन जाँदा पात तथा मुरली बजाउन थाल्नुभएका उहाँ अहिले करीब १५ थरीका बाजा बजाउन सक्नुहुन्छ । घरको कोठाभर बाजैबाजाले भर्नुभएका ढकालले कुनै कुनै पनि तालीम नलिइकन आफ्नै प्रयासले सिक्दै आएको बताउनुभयो ।

सानैदेखि गीत तथा सङ्गीतमा इच्छा भएको बताउनुभएका उहाँले अहिलेका लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पङ्गेनी तथा लोकगायक भगवान भण्डारीलाई चर्चित बनाउन आफ्नै पहल रहेको बताउनुभयो । आफैँले सिकाएका धेरै व्यक्ति कलाकार बने, ढकालले भन्नुभयो, “म गाउँमै बाजा बजाएर बसे पनि गर्व लागेको छ कि नेपाली लोकदोहोरी गीतमा कमै बज्ने मोहली बाजासमेत मसँग छ र मैले बजाउँछु, अनि संरक्षण पनि गर्छु ।” नेपाली लोकगीतमा लोपोन्मुख उक्त बाजा अहिले थोरै मात्र गीतमा बजेको पाइन्छ ।

गाउँघरमा जातीय हिसाबले गन्र्धवले बजाउने सारङ्गी तथा दमाईंले बजाउने सहनाईलगायत ट्याम्पो र ढोलकसमेत आफूले बजाउने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “जोसँग जे जस्तो सिर्जना छ उसले त्यै प्रस्तुति दिने हो । जातभातको कुरा गर्नुहुँदैन ।” अहिलेसम्म कुनै सप्ताह तथा महायज्ञमा जातीय विभेदका कारण नै नलगिएका सारङ्गी र सहनाई मैले नै भित्र्याएको छु ।”

स्थानीयस्तरमा भजनकिर्तन तथा यज्ञ सप्ताह तथा पूजा आरधनामा सङ्गीत दिनुहुने ढकालले वाद्यवाद्यनकै माध्यमबाट जातीय विभेदसमेत तोडेको जिकिर गर्नुभयो । रामपुर भजनकिर्तन मण्डलीको अध्यक्षसमेत रहनुभएका उहाँले व्यावसायिक रुपमा आफू चर्चामा आउन नसके पनि स्थानीय इच्छुक नागरिकलाई सीप हस्तान्तरण गर्ने सोचमा रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाको सहयोगमा उक्त संस्थाको भवन निर्माण पछि वाद्यवाद्यन सिकाएर धेरै सङ्गीतकर्मी बनाउने ढकालको सोच छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com