नेपाली प्रोफेसर डाक्टर तुल्सी धरेललाई क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड


प्रकाशित मिति : असार १०, २०७६ मंगलबार

नेपाली आप्रवासी तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड प्राप्त गर्नुभएको छ । विभिन्न देशबाट क्यानडामा पुगेर बसोबास गर्दै आएका आप्रवासीहरुमध्येबाट छनौट गरेर २५ जनालाई प्रदान गरिने यो अवार्ड प्राप्त गर्नेमा यो बर्ष धरेल एकमात्र नेपाली हुनुभएको छ ।

धरेलसहित जोर्डन, भेनेजुएला, भारत, लेबनान, सिरिया, इरान, इटली, युगाण्डा, हंगकंग, चीन, नाइजेरिया, फिलिपिन्स, पाकिस्तान, जमैका, भियतनाम र दक्षिण कोरियाका २५ जना आप्रवासीहरुले यो अवार्ड प्राप्त गरेका छन् । सुरुमा सयौंजनाबाट ७५ जना छनौट गरेर टप २५ छान्नका लागि अनलाइनमार्फत मतदान गरिएको थियो ।

नेपाली बौद्धिक व्यक्तित्व सोसल मार्केर्टिङमा विद्यावारिधी तुल्सी धरेल क्यानडाको सेन्टेनियल कलेजमा मार्केर्टिङ विषयका प्रोफेसर हुनुहुन्छ । झण्डै १९ बर्षदेखि क्यानडामा बस्दै आउनुभएका धरेल त्यहाँका चर्चित सामाजिक व्यक्तित्व समेत हुनुहुन्छ ।

गतबर्ष उहाँले क्यानेडियन मल्टिकल्चरल काउन्सिलबाट आउडस्टाण्डिङ एसियन क्यानेडियन अवार्ड प्राप्त गर्नुभएको थियो । त्यस्तै उहाँले लायन्स क्लब इन्टरनेशनल अमेरिकाबाट इन्टरनेशनल लिओ अफ त इयर अवार्ड प्राप्त गर्नुभएको थियो ।

टोरन्टोको जर्ज ब्राउन कलेज, वाटरलुको विलफ्रेड लाउरियर युनिभर्सिटी, मंगोलियाको मंगोलियन नेशनल युनिभर्सिटी र नेपालको त्रिभुवन युनिभर्सिटीमा प्राध्यापन गर्नुभएका धरेल कन्सर्न नेपाल क्यानडाका संस्थापक सदस्य समेत हुनुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com