ट्विटरमार्फत कूटनीतिक अभ्यास


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका राष्ट्रपति सी चिनफिङ ट्विटरमा नभएर के भयो र ? उनका राजदूतहरू देश हेरी ट्विटरमार्फत कूटनीतिक अभ्यास गर्न थाल्दै छन् । नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् ।

राजदूत होउ याङचीले ट्विटर एकाउन्ट खोलेको जानकारी सार्वजनिक गर्न दूतावासले संवाददाताहरूलाई इमेल गर्‍यो । ‘दक्षिण एसियाको विकास र समृद्धिका लागि बेल्ट एन्ड रोडबारे चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउँदा हर्षित छु,’ उनले पहिलो ट्विट अंग्रेजीमै गरिन्, ‘दक्षिण एसियाली देशलगायत छिमेकीसँग आर्थिक र सामाजिक विकासलाई प्रवर्द्धन गर्न चीनले बीआरआईअन्तर्गतको साझेदारीलाई थप अघि बढाउनेछ ।’ ट्विटर संसारमा चिनियाँ राजदूतको उपस्थितिलाई धेरैले स्वागत गरेका छन् ।

जानकारहरूका अनुसार नेपाली नीतिनिर्मातामाझ सम्पर्कमा रहन र आफ्ना कुरा नेपालीमाझ पुर्‍याउन ट्विप्लोमेसी प्रभावकारी हुने देखेर राजदूत याङची ट्विटर अकाउन्ट खोल्ने निर्णयमा पुगेकी हुन् । काठमाडौंस्थित कूटनीतिक नियोग प्रमुख ट्विप्लोमेसीमा सक्रिय हुन थालेकाले पनि ट्विटर संसारमा आफ्नो उपस्थिति बलियो पार्न याङची अघि सरेकी हुन् । बेलायत, अमेरिका र भारतका राजदूतले दिनहुँजस्तो ट्विट गरेर नेपालमा भएका आफ्नो दूतावासका गतिविधि सार्वजनिक गर्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com