न्युयोर्क राज्यमा अब कागजपत्रविहिनले पनि ड्राइभर लाइसेन्स पाउने, दुबै सदनबाट बिल पारित


प्रकाशित मिति : असार २, २०७६ सोमबार

अब न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुले पनि ड्राइभर लाइसेन्स र स्टेट आईडी प्राप्त गर्ने भएका छन् । न्युयोर्क राज्यको तल्लो सदनले पारित गरेको कागजपत्रविहिनलाई पनि लाइसेन्स प्रदान गर्ने नियमन आज सिनेटबाट पनि पारित भएको छ ।

डेमोक्रेटिक गभर्नर एन्ड्रयु कुमोले समर्थन गरेको यो विधयेक डेमोक्रेटिक बहुमत रहेको राज्यको सिनेटबाट पारित भएको हो । यो विधयेकले न्युयोर्क राज्यमा जुनसुकै अध्यागमन स्टाटस भएको आप्रवासीले पनि ड्राइभर लाइसेन्स पाउने प्रावधानलाई ब्यूताएको छ । यस्तो प्रावधान न्युयोर्कमा सन् २००१ भन्दा अगाडि विद्यमान थियो ।

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेकाहरुलाई १२ वटा राज्यले ड्राइभर लाइसेन्स प्रदान गर्दै आएकोमा अब न्युयोर्क १३ औं राज्य भएको छ । ड्राइभर लाइसेन्स एक्सेस एण्ड प्राइभेसी एक्ट अर्थात् ग्रिन लाइट न्युयोर्क नामको उक्त विधेयक पारित भएपछि अब न्युयोर्कमा ड्राइभर लाइसेन्सका लागि सोसल सेक्युरिटी नम्बर नचाहिने भएको छ ।

अब न्युयोर्कमा जो सुकैले पनि गैर ब्यापारिक ड्राइभर लाइसेन्स, लर्नर परमिट वा स्टेट आइडी प्राप्त गर्न सक्नेछन् । दुबै सदनबाट पारित यो विधेयक गर्भनरले हस्ताक्षर गरेपछि  १ सय १८ औं दिनमा कार्यान्वयन सुरु गरिने भएको छ ।

विधेयकको पूर्ण पाठ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com