सन्दर्भ एनआरएनए अमेरिका : कपोलकल्पित र भ्रामक प्रचार गर्नेहरुको मति फिरोस !


प्रकाशित मिति : असार २, २०७६ सोमबार

सञ्जय थापा

एनआरएनए अमेरिकाको सदस्य त २०११ मै लिएको हो । तर २०१४ भन्दा अगाडिको एनआरएन अमेरिकाको कुनै अर्थ, महत्व र चर्चा थिएन । जव २०१४ मा विधान संशोधन सहित सवै सदस्यको मतदानवाट निर्वाचन हुने चर्चा चल्यो त्यस पछी एनआरएन अमेरिकाको पक्ष/ विपक्ष उम्मेदवार/ मतदाताको हल्ला विस्तारै विस्तारै वजारमा सुनिन थाल्यो । यसै क्रममा २०१४ देखी विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय टास्क फोर्सको जिम्मेवारी मेरो पनि काँधमा आउन थाल्यो । तर नामका मात्र जिम्मेवारी थिए ति टास्क फोर्सहरु ! एक पटक अनुभव छ २०१४ मा नागरिकता टाक्सफोर्सको सदस्यको हैसियतले १/२ पटक टिमको समुहमा ईमेल आदान-प्रदान गरेको र नेपालको कुनै राजनैतिक जिम्मेवार ठाउमा नागरिकता निरन्तरताको निम्ती एनआरएन अमेरिकाको को पत्र सहित नेपाली नागरिकताको निरन्तरताको पक्षमा निर्णय पुस्तिकामा लिखित गर्न लगाएको । त्यो भन्दा अन्य कुरा टास्क फोर्सको सदस्यको हैसियतले केही गर्न नि पाएको होईन र गर्न परेको पनि थिएन ।

पहिलो पटक २०१५को अन्तराष्ट्रिय सम्मेलनमा धेरै कोशिसका वावजुद पनि मात्र पर्यवेक्षकको हैसियतले भागलिने अवसर जुट्यो । अमेरिकाको एउटा चल्ता पुर्जा संस्थाको अध्यक्ष नेपाल सम्म गएर १०० भन्दा ज्यादा प्रतिनिधि पाईने अवस्था अनि नेतृत्वलाई गम्भीरता साथ अनुरोध र कोशिस गर्दा समेत आफु समानका अरु २४ वटा राष्ट्रवाट आएका प्रतिनिधिहरु अनि तिनै साथीहरुले भन्ने गरेको ठुला देशको संस्थाको अध्यक्षले प्रतिनिधि नपाउदा चिन्ता र तत्कालिन अमेरिकी नेतृत्व संग आक्रोशित हुनु अस्वभाविक भएन नै ! त्यो पुरै कार्यकाल आफ्नो संस्थाको कुनै पनि कार्यक्रममा एनआरएन अमेरिकाको नेतृत्वलाई निमन्त्रण नगर्ने र एनआरएन अमेरिकाको को कुनै पनि आधिकारीक कार्यक्रममा समावेस समेत नहुने निर्णयमा पुगियो ।

२०१५ को अन्तराष्ट्रिय सम्मेलनमा यहाँको नेतृत्वबाट तत्कालिन अवस्थामा देखाइएको सानो चित्त अनि थुप्रै असंगतिपूर्ण व्यवहारले गर्दा २०१७ मा नया कार्यकालको निर्वाचनको सन्दर्भ चल्ना साथ तत्कालिन नेतृत्वको विरुद्धमा मोर्चावन्दी सुरु हुनु स्वभाविकै थियो । मोर्चावन्दि संगै त्यही मोर्चाको सल्लाहा/ सुझाव वमोजिम अर्को पटक अध्यक्षको उम्मेदवार हुने गरी २०१७ मा वोर्ड सदस्यमा उम्मेदवार हुने निर्णय सहित पुर्ण टिमको तयारी, प्रचार प्रशारमा लाग्ने क्रम अगाडि वढ्दै गर्दा राष्ट्रिय/अन्तराष्ट्रिय विधान र पावरको आधारमा निर्वाचन सम्वन्धी उम्मेदवारी विवाद, अदालतमा मुद्धा र अन्तमा आफ्नो टीमको नायकनै निर्वाचको दौडबाट अप्रत्यसित रुपमा राष्ट्रिय/अन्तराष्ट्रिय स्वार्थको लागि वाहिरियको खवरले टिम र मोर्चा भताभुङ भए पछी हामी चाही आफुले देखेको र लागेको मुख्य प्रतिष्पर्धीलाई सघाउने र त्यही टिममा समाहित हुने निर्णयमा पुग्यौ।

निर्वाचनमा कहिले कसैलाई जिताउने खेलमा लागिन्छ भने कहिले कसैलाई हराउने खेलमा लागिन्छ, जुन स्वाभाविक नै हो । २०१७ को निर्वाचन कसैलाई हराउने मोर्चा हो भन्ने हामीले वुझेका थियो तर परिणाम सधै आफुले सोचे मुताविक हुने भए यो संसारमा किन कोही दुखी हुन्थे र ? संसारको संरचना नै परिवर्तन हुन्थ्यो होला । २०१७ को निर्वाचनमा पनि त्यस्तै त्यस्तै भयो , आफु त निर्वाचित भइयो तर मुख्य नेतृत्वमा आफुले मत हालेको उम्मेदवार पराजित हुदा नि दुखित भइदो रहेछ । आफुले जित्दा पनि हराउने खोजिएकाहरुको विजयले व्यक्तिगत विजयमा खासै उत्साह भएन । हामीले जसलाई हराउन खोज्यौं त्यो पनि पात्रलाइ भन्दा प्रवृतिलाइ हराउने नै प्रमुख कुरा थियो जुन कार्यमा हाम्रो सफलता हुन सकेन ।

कुनै निर्वाचनमा प्रतिस्पर्धा गर्दा जेजसरि भए गरेपनि निर्वाचन सम्पन्न भएपछी परिस्थति फरक हुनुपर्थ्यो । यद्धपि त्यस कार्यकालको सुरवातमै मलाइ कार्यसमिति भित्र प्रतिपक्षको रुपमा सुरुबाटनै चित्रित गरियो । त्यसैले हुनुपर्छ २०१७-२०१९ को कार्यकालको सुरुमै कसैले मलाइ ‘ प्रतिपक्षको भुमिका निर्वाह गर्न सक्नु हुन्छ ?’ भनेर सोधेको थियो र त्यसरी सोध्दा सामाजिक संस्थामा पक्ष/प्रतिपक्ष हुदैन सवै मिलेर समाजको हितमा काम गर्ने हो भन्ने जवाफ दिंदै र त्यसै अनुरुप अगाडि वढ्ने प्रयास समेत गर्दा पनि सुरुको दिनबाट नै असफल भइएकै हो । कतिपय निर्णय ईमेलको मतदानवाट परिवर्तन गर्ने टेक्स्टबाट भोटिङ गरी वहुमतको आधारमा निर्णय गर्ने आदी कामले साच्चै हिजो नेपालमा एउटा पार्टीको कार्यकर्ताको हैसियतले जनप्रतिनिधि हुँदा पनि त्यसो नगरेको काम कुराको स्मरण भएकै हो । तर पछी नेतृत्व संगको एक रातको एउटा पार्टी र पार्टी पछीको लामो छलफल पछी परिस्थितीमा सुधार आई वांडफांडको आधारमा जिम्मेवारी दिइएको थियो, जसअनुसार मेरो भागमा तिन जिम्मेवारी परेका थिए ।

आफुले पाएको विभिन्न जिम्मेवारीहरुलाइ योग्यता , क्षमता अनुसार इमान्दारी साथ सम्पन्न गरियो अनि अनि कतिपय पुरा नभैसकेको भएपनि परिणामको प्रतिक्षा मात्रै बाँकी छ , हामीले गर्नु पर्ने काम सकिएकै छ । पाएको जिम्मेवारी वमोजिमको पहिलो काम थियो विधान सम्वन्धि । विधान समितिको सदस्यको हैसियतले काम गर्दा मलाई सदस्य वनाउने प्रकृया र निर्वाचन प्रकृयामा व्यापक सुधार ल्याउन सक्दा मात्र हाम्रो एनआरएनएले सकारात्मक भुमिका निर्वाह गर्ने सक्छ भन्ने लागेको थियो । त्यसमा सदस्य वन्ने प्रकृयाको सुधारमा सर्व सहमति कायम रह्यो तर निर्वाचनको कुरामा प्रस्तुत मेरो विचार फरक मतका रुपमा रह्यो अनि आफ्नो मत साधारण सभामा प्रस्तुत गर्दा अत्यन्तै झिनो उपस्थितिको अल्पमतले प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था हुनुपर्छ भन्ने मेरो फरक मत प्रराजित भएको थियो ।

त्यस पछीको अर्को जिम्मेवारी थियो हेल्प डेष्क समितिको उपसंयोजकको । त्यस हैसियतले काम गर्दा हेल्प डेष्क कमिटीलाइ नेपालीहरुले एक अर्कालाई गर्दै आएको सहयोग र परेको समस्या समाधानको लागि गरिदै आएको सहयोगहरुलाइ अलि व्यवस्थित, अलि गणना हुन सक्ने गरि गर्ने लक्ष्य वमोजिम सके सम्म धेरै राज्यमा च्याप्टरको सहयोगमा हेल्प डेष्क कमिटी गठन गराउने र त्यही कमिटी मार्फत सहयोग गर्ने/गराउने अभियानको सुरुवात हेल्प लाईन सेवावाट गरियो । धेरै साथीहरुलाई परेको भैपरी आउने काममा सहयोगका साथै परेका कानुनी समस्या, सामाजिक समस्या, आर्थिक समस्याहरुलाई सम्वन्धित विज्ञ वा दाताहरु सम्म पुर्याउने काम निक्कै उपलव्धी मुलक रह्यो भन्दा कसैले विमति राख्नु हुन्छ होला जस्तो लाग्दैन । यसको संचालनमा कही कतै भित्र वाहिरवाट कहिले काही मिस अन्डरस्ट्यान्ड चाही नभएको पक्कै होईनन तर जे भए पनि यो कार्यकालको सफल कार्यक्रममा हेल्पडेष्कलाई लिँदा गलत हुदैन भन्ने धेरैको वुझाई छ । यस कार्यक्रमलाइ अझ प्रभावकारी ढंगले, अझ वैज्ञानिक अनि व्यवस्थित ढंगले भविष्यमा पनि संचालन गर्ने सके निर्वाचित नेतृत्वको गरिमा बढने कुरामा दुईमत छैन ।

तेश्रो जिम्मेवारी सरकारी संयोजन समितिको संयोजकको । त्यस हैसियतले नेपालको संविधानले व्यवस्था गरेको गैरआवसिय नेपाली नागरिकताको सरल सहज वितरणमा प्रकृयाको लागि नेपाल सम्म गएर गरेको लविङ्गले परिणाम प्राप्त भइ नसकेको स्थितिमा कही कतै छिटफुट हाम्रो मेहनतको बारेमा पनि नकारात्मक टिका टिप्पणी गरेको सुनिएको भए पनि छिट्टै प्राप्त हुने परिणावाट त्यो मेहनतको मु्ल्याङकन हुने नै छ भन्ने विस्वास छ । नेपाली राहदानीको लागि राजदुतावास सम्म जान नपर्ने र आवस्यकता पर्दा कन्सुलेटको घुम्ति सेवा समेत उपलव्ध गराउन गरिएको निर्णय पनि यो समितिको अर्को महत्वपुर्ण उपलव्धी हो ।

कतिपय काम सम्पन्न गर्दा नगर्दै निर्वाचनको चरण प्रारम्भ हुने र कार्यकाल समापन हुने दिशा तर्फको स्वाभाविक प्रक्रियामा गयो । नेतृत्व हस्तान्तरणको लागि नया निर्वाचनको प्रक्रिया सुरु भए संगै पुर्व तयारी , अनुभव र जिम्मेवारी निर्वाह गरेको आधारमा नेतृत्वमा जाने विषयमा बिभिन्न साथीहरुसंग सल्लाह गरेपछि त्यस तर्फको तयारी सुरु गरियो । निर्वाचनमा प्रतिस्पर्धा गर्नु पर्ने अनिवार्य आवश्यकता महशुस गरी त्यसै दिसा तर्फ उन्मुख हुन्दा २ वर्ष अगाडिको मोर्चाको स्मरण हुनु स्वाभाविकनै थियो । यद्धपि समय र परस्थितिमा व्यापक परिवर्तन आइसकेको थियो ।
राजनैतिक/सामाजिक अभियानमा कोही स्थाइ शत्रु र कोही स्थाइ मित्र हुदैनन भन्ने राम्रो संग वुझेकोले त्यो २ वर्ष अगाडिको मोर्चा त्यही स्थितिमा नरहदा अचम्म लागेन ।

निर्वाचनमा देखिएको पक्षधरताको आधारमा वहाँहरु संगको मित्रतामा भविष्यमा पनि कुनै कमि नआउने अठोट त छँदैछ । एनआरएनए अमेरिकामा अझै धेरै सुधारको आवश्यकताहरु छन , सवै खाले विकृति र विसंगति हटाई आम नेपालीहरु सदस्य वन्ने र नेतृत्व पनि गर्ने सक्ने संस्था वनाउने अभियानमा लाग्ने हो , निर्वाचन जितिएला वा हारिएला तर आफ्ना केही एजेण्डाहरुले जित्नेछन अनि हाम्रो एजेण्डाको महत्वलाइ राम्रा असल मानिसहरुलाइ महशुस गराउन सकिएला भन्ने लागेर निर्वाचनमा उम्मेदवार भएको थिएँ । त्यही भयो निर्वाचनका दौरान जाहाँ-जाहाँ पुगियो त्याहाँ-त्यहाँबाट हामीले उठाएका एजेण्डाहरु उपर व्यापक समर्थन र सहयोग प्राप्त भएको महसुस भएको भयो । तर विडम्वना जुन विकृतिको लागि लडियो जुन विसंगतिलाई निस्तेज पार्ने योजनाका साथ अगाडि वढिएको थियो त्यसैमा फसाउन प्रयत्न गर्नेहरु पनि देखिए । अन्तत कुनै पक्षको योजनामा नफसे पछी एउटा पक्षले अर्का पक्षसंग जोडेर यो वा त्यो भनेर प्रपोकाण्डाहरु मच्चाएको पनि सुनिएकै छ ।

यो भुमिमा सवै मानिस दुख मेहनत गरेर आफु र आफ्नाहरुको भविष्य निर्माण गर्न आएको भन्ने मेरो बुझाइ थियो र समग्रमा त्यो अझै बाँकीनै छ । भलै दुख , मेहेनत र इमान्दारीलाइ पुजिने यो देशमा पनि नकारात्मकतामा रमाउने , अफवाहमा रमाउने र कसैलाइ वदनाम गराउन तल्लिन हुनेहरुले आफ्नो लक्ष्य अनुसार अगाडी बढ्न समय पाएको अनि त्यस्ता अफवाहहरुले कतिपयलाइ झुक्याउन समेत सकेको देख्दा भने अचम्म लागेको छ । आशा छ यस्ता खालका कपोलकल्पित र भ्रामक प्रचार गर्नेहरुको मति फिरोस , यस्ता कुप्रचार कसैले नगरुन , गर्नेले पनि आफ्नो प्रचार प्रमाणित गर्न सकुन होईन भने क्षेणीक आनन्दको निम्ती गरिने त्यस्ता कुप्रचारले आफ्नै व्यक्तित्वमा पनि नकारात्मक प्रभाव पार्छ भन्ने चेत समयमै पलाओस ।

केही दिनमा एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको सदस्यको रुपमा काम गर्ने समय आधिकारिक रुपमै सकिदैछ । कार्यकाल पुरा भइ नया निर्वाचितहरुलाइ जिम्मेवारी र दाइत्व हस्तान्तरण हुदैछ । नया टिममा नेतृत्वमा रहनु भएको पहिलो , दोश्रो र तेश्रो तह लगायतका साथीहरु संग पुरानो टिममा वसेर काम गरेको अनुभव छ , जुन अत्यन्त राम्रो कुरा हो । साच्चै काम गर्ने नै हो भने हिजो कसैको स्वार्थका लागि गरिएको कमजोरीहरुलाई १/१ गरेर नियालेर त्यसलाई सुधारेर अगाडी बढ्ने प्रण अनिवार्य छ । त्यसो गर्नसक्दा संस्था प्रतिको विश्वास बढ्ने छ । नराम्रा सोच , व्यवहार र अभ्यासहरुलाइ परित्याग गर्दै सवैको राम्रा कार्यक्रमको अनुशरण हुन सक्दा कसैलाइ पराजित भएको महशुस पनि हुने छैन । सहि सोचको साथ राम्रोगर्दै सवैको मन जित्ने ढंगले एनआरएन अमेरिकाको वर्तमान नेतृत्व अगाडी बढोस हाम्रो पनि शुभकामना छ ।

थापा एनआरएनए अमेरिकामा हालै सम्पन्न चुनावका अध्यक्ष उम्मेदवार थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com