‘अमेरिकाबाट देशनिकालाको हल्लाको पछि नलागौं’ – कानुनविद्


प्रकाशित मिति : माघ २५, २०७३ मंगलबार

अमेरिकामा रहेका नेपालीहरु र नेपालमा रहेका उनीहरुका आफन्तहरु अमेरिकाको परिवतर्तित अध्यागमन अवस्थाबाट चिन्तित हुनुपर्ने अवस्था नरहेको अमेरिकी कानुनविद् केशव सेडाईले बताउनुभएको छ । अमेरिकामा अपराध गरेको र अदालतबाट देशनिकालाको आदेश पाएको बाहेक अरु कुनै पनि नेपाली अमेरिकाबाट देशनिकाला हुने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।

एबीसी टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम टक अफ द टाउन युएसएका लागि कार्यक्रम संचालक किशोर पन्थीसँग कुराकानी गर्दै सेडाईले भन्नुभयो – ‘हल्लाको पछि लागेर कोही पनि चिन्तित हुनुपर्ने जरुरी छैन ।’

अमेरिकी ग्रिनकार्ड रहेका र टीपीएसबाट एड्भान्स परोल लिएकाहरु अमेरिकाबाहिर जान र अमेरिका फर्कनमा कुनै समस्या नहुने बताउँदै उहाँले अन्य अस्थायी प्रकारका गैरआप्रवासी भिसामा रहेकाहरु र एसाइलम गरेकाहरुलाई भने तत्काल अमेरिकाबाहिर यात्रा नगर्न सुझाव दिनुभयो ।

अन्तरवार्ताको सम्पूर्ण भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

अमेरिकाभित्रै रहेका कागजपत्रबिहिनहरु संरिक्षत शहरहरुमा बसेमा अपराध नगरेसम्म वर्तमान अवस्थामा देशनिकालामा पर्ने खास खतरा नहुने पनि उहाँले स्पष्ट पार्नुभयो । ट्रम्पको नीतिले अपराधीहरुलाई देशनिकाला गर्नेकुरालाई प्राथमिकतामा राख्ने भएकाले अमेरिकामा आप्रवासी स्टेटसमा रहेकाहरु र गैरआप्रवासी भिसामा रहेकाहरुलाई कुनै समस्या नपर्ने भएकाले हल्लाका पछि नलाग्न उहाँले सुझाव दिनुभयो ।

मानवअधिकार, न्याय र स्वतन्त्रता अमेरिकाको लागि धेरै महत्वपूर्ण रहेको भन्दै अमेरिकी सरकार चेक एण्ड ब्यालेन्समा चल्ने उहाँले बताउनुभयो । ट्रम्पको कार्यकारी आदेश न्यायालयले रोकिराखेको र अमेरिकी कानुनी राज्य भएकाले हरेक कुराको कानुनी उपचार रहेको उहाँले प्रष्ट पार्नुभयो ।

आगामी दिनमा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने नेपालीहरुलाई भने अप्ठ्यारो अवस्था आउनसक्ने उहाँले बताउनुभयो । मेक्सिकोबाट अमेरिका छिर्न खोज्नेले एसाइलम गरेमा पनि मेक्सिकोतर्फ नै फर्काएर केस लिने तथा विभिन्न भिसामा अमेरिका आएर एसाइलम गर्नेहरुको एसाइलम युएससीआईएसबाट अस्वीकृत भएमा जेल हालेर न्यायाधिस समक्ष लगिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com