युएससीआईएसको नयाँ कार्यकारी निर्देशकमा जन्मसिद्ध नागरिकताको विरोध गर्ने हार्डलाइनर केन


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

युएससीआईएसका नयाँ कार्यकारी निर्देशकमा केन कुसिनेलीलाई नियुक्त गरिएको युएससीआईएसले जनाएका छन् । उनले जुन १० देखि आफ्नो कार्यभार सम्हालेका छन् ।

कुसिनेलीले १९ हजार कर्मचारी रहेको युएससीआईएसको नेतृत्व गर्नेछन् । आर्थिक बर्ष २०१८ मा मात्र युएससीआईएसले ८७ लाख अध्यागमन सुविधाका आवेदनहरुमा फैसला लिएको थियो ।

कुसिनेलीले सन् २०१० देखि २०१४ सम्म भर्जिनियाका महान्यायाधिवक्ताका रुपमा काम गरेका थिए । सन् २००२ देखि २०१० सम्म उनले भर्जिनियाको सिनेटमा काम गरेका थिए । उनीसँग २५ बर्षसम्म अमेरिकी कानुनको अभ्यास गरेको अनुभव समेत रहेको छ ।

डेमोक्र्याट्स, रिपब्लिकन र अध्यागमन एड्भोकेटहरुको विरोधका बाबजुत ट्रम्प प्रशासनले कुसिनेलीलाई युएससीआईएसको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अध्यागमनका क्षेत्रमा हार्डलाइनरका रुपमा परिचित उनले युएससीआईएसलाई प्रभावकारी बनाउन काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कुसिनेलीले विगतमा जन्मजात नागरिकताको अधिकार अन्त्यका लागि समेत वकालत गरेका थिए । त्यस्तै उनले कागजपत्रविहिन आप्रवासीलाई सिमाक्षेत्रबाटै फर्काउनुपर्ने धारणा राख्दै आएका थिए । डेमोक्रेटिक नेताहरुले उनी आप्रवासीविरोधी व्यक्तित्व भएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com