‘एनआरएनए अष्ट्रेलियाले नेपाललाई होइन अष्ट्रेलियाको नेपाली समुदायलाई प्राथमिकतामा राख्नुपर्छ’


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

एनआरएनए ( गैरआवासीय नेपाली संघ ) अष्ट्रेलियाको निर्वाचन नजिकिंदै छ । नयाँ कार्यकालको लागि एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई ६ मा हुने भएको हो ।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन तथा महाधिवेशनको विषयलाई लिएर हिमालयन कंगारुले संस्थाका वर्तमान अध्यक्ष टोनु घोतानेसंग छोटो कुराकानी गरेको थियो । उक्त कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ :

एनआरएनए अष्ट्रेलियाको आसन्न निर्वाचनको तयारि कस्तो चलिरहेको छ ?
निर्वाचनलाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यसै अनुरुप तयारि भइरहेको छ । उम्मेद्वारका आकांक्षीहरुका लागि निश्चित नियमहरु सार्वजनिक गरिसकेका छौं । उहाँहरु पनि त्यही अनुसार तयार हुनुभएको पाएका छौं । यसपाली एनआरएनको लोगोलाई प्रचारमा नल्याउन अनुरोध गरेका छौं, जसअनुसार साथीहरुले लोगो बिना आफ्ना एजेन्डा, अनुभवलाई मुख्य जोड दिएर मतदाता समक्ष पुग्ने कोसिस गरेको पाएका छौं । यसको साथै मतदान व्यवस्थित गर्नको लागि पूर्वतयारि भइरहेको छ ।

यसपटकको महाधिवेशनका मूल एजेन्डा के-के छन् ?
यसपालीको महाधिवेशन आगामी अगस्ट १० मा हुनेछ । त्यसको लागि हाम्रो मूख्य नारा ‘ Think Global , Act Local ‘ रहनेछ । एनआरएनको अध्यक्ष पदमा उम्मेद्वारी दिंदा मेरो जुन नारा थियो त्यही नै महाधिवेशनको मूख्य नारा रहनेछ । मेरो विचारमा एनआरएनएले पहिले अष्ट्रेलियामा रहेका नेपालीको बारेमा सोंच्नुपर्छ अनि मात्र नेपालको बारेमा सोंच्नुपर्छ । यसअगाडी एनआरएनएले नेपाललाई प्राथमिकतामा राख्यो, जसले गर्दा यहाँ बसोवास गरिरहेका नेपालीहरुका समस्या र चाहनाहरु सम्बोधन हुन सकेनन् । मैले उक्त नारा ल्याएपछि एनआरएनएका अन्य साथीले पनि मन पराउनुभयो र हामीले सोही अनुसार काम गर्यौं । त्यसैले संस्थाकै निर्णयमा यो वर्षको महाधिवेशनको मूख्य नारा ‘ Think Global , Act Local ‘ हुनेछ, जसमा यहाँ बसोवास गरिरहेका नेपालीहरुसंग सम्बन्धित विषयलाई प्राथमिकतामा राखिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा बढी सदस्यता संख्या भएको एसोसिएट संगठनको मतदान कसरि हुन्छ ?
एसोसिएट संगठनको मतदानलाई व्यवस्थित बनाउनको लागि हामीले तयारि गरिरहेका छौं । एसोसिएट संगठनको मतदानमा ५० प्रतिशत अनलाइन र ५० प्रतिशत बुथबाट हुनेछ । ग्रामिण क्षेत्रबाट मतदाताहरुले अनलाइन मतदान गर्नेछन् भने सहरी क्षेत्रका मतदाताहरुले बुथमा गएर मतदान गर्नेछन् ।

भावी नेतृत्वका लागि हाल देखिएका आकांक्षीहरुप्रति तपाईंको दृष्टिकोण कस्तो छ ?
अहिले जति पनि आकांक्षीहरु देखिनुभएको छ उहाँहरु सबैजसो अनुभवी हुनुहुन्छ । उहाँहरुले अष्ट्रेलियामा संघर्ष गरेर आफूलाई एउटा स्थापित ठाउँमा पुर्याउनुभएको छ, नेपाली समाजको हितको लागि व्यक्तिगत रुपमा र विभिन्न समूह, संघ संस्थामा आबद्ध रहेर योगदान गर्नुभएको छ । यसको साथै उहाँहरुसंग एनआरएनए अष्ट्रेलियामा रहेर काम गरेको अनुभव समेत छ । त्यसैले एनआरएनएले आउँदो कार्यकालको लागि राम्रो नेतृत्व पाउनेछ भन्नेमा म ढुक्क छु ।

नयाँ नेतृत्वबाट यहाँका अपेक्षा के-के छन् ?
अब एनआरएनएले नेपाली समुदायको हितको लागि अष्ट्रेलियन सरकारसंग लबिङ्ग गर्नुपर्नेछ । पछिल्लो समय नेपाली व्यक्तिहरु अष्ट्रेलियाको राजनीतिमा देखिन थाल्नुभएको छ । भावी नेतृत्वले नेपाली समुदायको बृहत्तर हितको लागि आवश्यक पहल गर्नुपर्छ । यसको साथै आगामी पुस्तालाई नेपाली भाषा, नेपाली कला, संस्कृतिको बारेमा जानकारी दिनको लागि विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ ।

तपाईंको कार्याकालको उपलब्धि र भावी नेतृत्वले निरन्तरता दिनुपर्ने एजेन्डा वा कार्यक्रम के-के छन् ?
मेरो यो दुई वर्षे कार्यकालमा नेपाली समुदायलाई विपदको समयमा सहयोग गर्नको लागि हेल्प डेस्क, Rapid Response Team स्थापना भयो । यो टिममा मानसिक स्वास्थ्य, घरेलु हिंसा आदिका छुट्टाछुट्टै टिमहरु बनाइएका छन् । ती टिमहरु सम्बन्धित विषयका विज्ञहरु हुनुहुन्छ, जसले नेपाली समुदायलाई आवश्यक सहयोग गर्नुहुन्छ । Rapid Response Team अष्ट्रेलियाका सबै राज्यमा स्थापना गरिएको छ । यसको साथै मेरो कार्यकालमा एनआरएनए अष्ट्रेलियाको विधान बन्यो । संस्थाले १२ हजार सदस्य बनाउन सफल भयो, जुन अहिलेसम्मको र अरु देशको तुलनामा समेत उच्च हो । हाम्रो कार्यकालमा भएका कामहरुले नेपाली समुदायको मन जितेका कारण नै सदस्यहरु बढ्नुभयो । त्यस्तै, मेरो कार्यकालको मूख्य उपलब्धि संस्था दर्ता पनि हो । सिड्नीमा मात्र दर्ता भएको संस्था अहिले सबै राज्यमा दर्ता भएको छ । हाम्रो कार्यकालले उठाएका मुद्दा, गरेका राम्रा कार्यलाई आगामी कार्यकालमा आउने साथीहरुले निरन्तरता दिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।

अन्त्यमा, एनआरएनए प्रति विद्यार्थीहरुको वितृष्णा देखिएको किन होला ?
यसलाई म वितृष्णा भन्दा पनि मायाको रुपमा लिन्छु । विद्यार्थीहरुले हामीलाई यहाँ अभिभावक ठान्छन् । स्वाभाविक हो, अभिभावकले आफ्नो कुरा बुझिदिएन भने सन्तान निराश हुन्छ र गुनासो गर्छ । अबको कार्यकालले विद्यार्थीको यो गुनासोलाई पनि मध्येनजर गर्दै काम गर्नु आवश्यक छ । हाम्रो कार्यकालमा विद्यार्थीहरुका लागि हेल्प डेस्क, सीपमुलक तालिम आदि कामको सुरुवात भयो । मलाई लाग्छ, आगामी नेतृत्वले यी कामहरुलाई निरन्तरता दिंदै विद्यार्थीहरुका लागि थप केही नयाँ कायक्रमहरु ल्याउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com