प्रितम र आयुष लिटल च्याम्सको फाइनलमा
प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार
भारतीय टेलिभिजन च्यानल जीटीभीको सारेगामा लिटल च्याम्स २०१९ को संस्करणमा सहभागी नेपाली आयुष केसी र प्रितम आचार्य फाइनलमा प्रवेश गरेका छन्। आइतबार प्रसारण भएको शृंखलामा आयुषले उत्कृष्ट प्रस्तुति दिएका थिए। आयुषले तुम मिले बोलको गीत गाएका थिए। उनको गायकीबाट लिटल च्याम्सका निर्णायक र जुरी निकै प्रभावित भएका थिए।
उनको प्रस्तुतिपछि निर्णायकले स्टेजमा पुगेर उनलाई सम्मान गरेका थिए। इटहरीका ११ वर्षीय बालगायक प्रितमले जब लुट गए बोलको गीत गाए तब पूरै माहोल स्तब्ध भएको थियो। अब उनले लिटल च्याम्सको फाइनलमा भिड्ने भएका छन्। प्रितम पाँच वर्षको उमेरदेखि नै गीत गाउँदै आएका छन्।
मेगा अडिसनबाट उत्कृष्ट प्रस्तुति दिएका उनी उपाधिका बलिया दाबेदार हुन्। यसअघि डान्सिङ रियालिटी सोमा नेपाली चेली तेरिया मगरले उपाधि जितेकी थिइन्। अब गायन रियालिटी सोमा प्रितमले उपाधि जितेर नेपालको शिर उच्च बनाउने अपेक्षा राखिएको छ। भारतभरका २० हजारभन्दा बढी प्रतिभालाई पछि पार्दै उनी यो स्थानसम्म आइपुगेका हुन्।
अर्का प्रतिस्पर्धी आयुष पनि प्रतिभाशाली बाल गायक हुन्। सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा अध्ययनरत आयुष सानैबाट संगीतमा रुचि राख्थे। उनले संगीत सिक्न थालेको पाँच वर्ष भयो।
आइतबार जब आयुषले आफ्नो प्रस्तुति दिँदै थिए निर्णायकले वाहवाही गरेका थिए। उनीहरूले मार्मिक गीत रोजेका थिए। तै पनि यति सफलतापूर्वक प्रस्तुति दिए कि निर्णायक नै आश्चर्यमा परे। प्रस्तुति सकिएपछि उनलाई गीत दोहो¥याएर गाउन लगाइयो। यसमा उनी झनै अब्बल ठहरिए।
हल त्यतिबेला स्तब्ध भयो जब आयुषकी आमाले नेपाली भाषामै आफ्नो छोराको प्रस्तुतिबारे बताइन्। सुरशाला म्युजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार तीन वटा भिडियो पठाइसकेपछि उनीहरूलाई सीधै ‘लेभल टु’ का लागि दिल्ली बोलाइएको थियो।
‘लेभल टु’मा छानिएका आयुष र प्रितम स्टुडियो राउन्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ राउन्ड’ अनि ‘मेगा अडिसन’ राउन्ड हुँदै उनीहरू फाइनलमा प्रवेश गरेका हुन्। सारेगामा लिटल च्याम्स्को फाइनलमा प्रितम र आयुषलगायत ६ जना पुगेका छन्।






