१ लाख पनि खर्च नगरी तीनपटक सांसदमा निर्वाचित देउजा सरको सरलता, निष्ठा र इमान


प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार

काभ्रे जिल्लाबाट प्रतिनिधिसभामा तीन पटक निर्वाचित भएर माननीयज्युको सम्वोधन आर्जेको भएपनि शिवबाहादुर देउजालार्ई आफ्नो पुरानो पेशा अर्थात मास्टरीसंग जोडिएको ‘देउजा सर’ भन्ने सम्वोधन नै प्यारो लाग्छ । हुन पनि उहाँलाई काभ्रेमा मात्रै नभएर अन्यत्र पनि धेरैले देउजा सरनै भनेर बोलाउने गर्छन । लामो समय शिक्षण सेवामा विताएका काभ्रेका देउजा सरले सदैव इमान, निष्ठा, नैतिकता र सरलतासंगनै आफुलाई निकट राख्नुभयो । सायद त्यसैको परिणाम हुनुपर्छ, देउजा सरलाई उनको पार्टी नेकपाभित्र मात्रै नभएर आम रुपमा श्रद्धा र सम्मानको नजरले हेर्ने गरिन्छ ।

सायद निष्ठा, इमान र सरलतासहितको जनताको सेवालाई मात्रै राजनीति भन्ने बुझेर सोही अनुसारको अभ्यास गर्दै आएकोले पनि हुनुपर्छ, देउजा सरले पाउनु पर्ने जत्तिको राजनीतिक जिम्मेवारी र अवसर पाउन सकेको देखिदैन । तर पनि उहाँको राजनीतिक सक्रियता र समर्पणमा कुनै कमी आएको छैन । प्राप्त जे जिम्मेवारी छ त्यस अनुरुपको काम गर्ने, कसैको जिम्मेवारीमा हस्तक्षेप पनि नगर्ने, मलार्ई यो चाहियो, त्यो चाहियो भन्न पनि नजाने उहाँको स्वभावमा पनि कुनै वदलाव आएको छैन ।

आज भन्दा करिव ४ दशक अगाडि कम्युनिष्ट पार्टीको झण्डा उठाउने समयमा केवल जनताको मुक्ति, उन्नति र सम्वृद्धिलाई मात्रै सपना बनाएको हुनाले पनि आफुले के पाइयो वा पाइएन भन्ने चिन्ता खासै नरहेको पनि होला उहाँमा । शिक्षक आन्दोलनमार्फत वामपन्थी आन्दोलनसंग जोडिएका देउजालाई काभ्रेमा कम्युनिष्ट पार्टीको संस्थापकहरुकै सुचीमा अग्रपंक्तिको योद्धाको रुपमा हेरिन्छ । कम्युनिष्ट आन्दोलनमा लाग्न जस्तोसुकै त्याग र वलिदान गर्नुपर्छ भन्ने बुझ्नुभएका देउजाले २०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा निर्वाचन लड्न पेन्सन पाक्नै लागेको शिक्षकको जागिर छोडेर मैदानमा होमिनु भएको थियो । पञ्चायती दमन र धाँधलीले जिल्ला पञ्चायतमा जनताको मुद्दा र आवाजलाई वुलन्द गर्ने उहाँको सपना र पार्टीको योजनालाई सफल हुन दिएन । बरु उहाँलाई खुल्ला जनसंगठनको नेताबाट पूर्णकालिन पार्टी नेताको रुपमा परिणत गरिदियो । यस्तै कठिन भूमिगत राजनीति अगाडि बढाउँदै काभ्रे जिल्लालाई लाल किल्ला बनाउदै गर्दा २०४६ सालको आन्दोलन उत्कर्षमा पुग्ने पुग्ने बेलामा उहाँ काठमाडौंबाट पक्राउ पर्नुभयो ।

हुन त शिक्षक आन्दोलनकै दौरान पनि उहाँ पक्राउ परेर थुनिनु भएको थियो । त्यसैले पक्राउ पर्नु र थुनिनु सामान्यनै भएपनि २०४६ मा पक्राउ पर्दा उहाँलार्ई यत्तिकै पक्राउ गरिएको थिएन । पक्राउपूर्व भाग्ने क्रममा उहाँको टाउको फूटालिएको थियो । बन्दी भएर जेल पुग्दा उहाँको टाउकोमा २६ टाँका थिए । बिभिन्न दुर्नियतसहित उहाँलाई जेल ( थुनेको स्थान) सार्दै धुलिखेल पुर्याइएको थियो, जहाँ चरम यातना दिइन्थ्यो भने यातनाले गलेको उदेउजालाई धम्कप्सहित आवश्वासन पनि दिइन्थ्यो । तर उहाँ न धम्कीले गल्नुहुन्थ्यो, न त आश्वासनले आकर्षित । बरु तत्कालिन पञ्चायतका हस्ती भनिएकाहरुलाई आन्दोलनको राप र चापले पञ्चायतको जरो हल्ली सकेको सत्य जानकारी गराउनु हुन्थ्यो । अनि आफ्नो जीवन रहे पनि नरहे पनि प्रजातन्त्र स्थापना भएरै छोड्ने एैलान सुनाउने गर्नुहुन्थ्यो ।

देउजाको यस्तो हुँकारले उहाँमाथि दमन झन् बढ्थ्यो । जसको परिणाम उहाँको हात नै भाँचिएको थियो । अहिले पनि उहाँ आफ्नो साइँली औंला सिधा उठाउन सक्नुहुन्न् । आखिर उहाँले हुँकार गरेकै जस्तो गरी पंचायत ढल्यो, प्रजातन्त्र वाहली भयो । केहि दिन अगाडिसम्म धुलिखेल जेलमा कैदी रहेका शिवबहादुर देउजा जनताको हिरोको रुपमा जनतको बीचमा अविर र माला लगाएर हात हलाउँदै अभिवादन गर्दै देखिन थाले । समयक्रममा प्रजातान्त्रिक रुपमा पहिलो आम निर्वाचन सम्पन्न भयो २०४८ मा । त्यतिवेला देउजा सर आफैं मैदानमा हुनुहुन्थ्यो । काभ्रेको तत्कालिन पार्टी नेतृत्व पनि उहाँकै हातमा थियो । उनी आफु मात्रै नभएर पार्टीका सबै उम्मेदवार अनि गठबन्धनमा सामेल तत्कालिन जनमोर्चाका उम्मेदवारलाई समेत विजित बनाउन सफल हुनुभयो ।

जव सरलता, निष्ठा र इमानका प्रतिमूर्तिको सिंहदरवार प्रस्थान भयो । धेरैले उहाँको परिचय कायम रहला, नरहलामा शंका गरेकै थिए । राजनीतिभित्र भ्रष्टाचार झाँगिदै गर्दा त्यस्तो शंका निरर्थक थिएनन । तर उहाँको परिचय धुमिलो हैन, चम्किदै गयो । चर्चित लाउडा बिमान खरिद प्रकरण होस वा  धमिजा काण्ड होस वा पशुपति क्षेत्र विकासको भ्रष्टाचार होस ती सबैको छानविनमा सार्वजनिक लेखा समिति सदस्यको हैसियतमा उहाँकै नेतृत्व थियो । दवाव, आग्रह र अनुरोधले भ्रष्टाचारको छानविनलाई प्रभावित पार्नु हुन्न भन्नेमा उहाँ सदैव दृढ रहे । सायद त्यसैले हुनुपर्छ २०४८ को आम निर्वाचन र २०५१ को मध्यावधि निर्वाचन मात्रै हैन, पार्टी बिभाजनको कारण देशभर तत्कालिन एमाले उम्मेदवारहरु पराजित हुँदा पनि उहाँले २०५६ सालको निर्वाचनमा सदाझैं ठुलो मतान्तरमा निर्वाचन जितेका थिए ।

रोचक त के छ भने तिन पटक निर्वाचन जित्दा पनि उहाँले निर्वाचन प्रयोजनमा १ लाख रुपियाँ पनि खर्चनु परेन । जनताको माया र आशिर्वादमै जित्नुभयो । २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचन हुँदा उहाँ अन्तरिम विधायिका संसदको सदस्य हुनुहुन्छ । उहाँको लोकप्रियता र तत्कालको अवस्थालाई हेरेर उनी फेरी उम्मेदवार हुने धेरैले आशा राखेका थिए । तर आफुलार्ई नेता बनाउनेहरुलाई पनि नेता हुन दिनुपर्छ भन्ने सिद्धान्तको आधारमा उहाँले निर्वाचन नलडने संकेत गरिदिनु भयो । भलै उहाँले छोडेको स्थानमा मात्रै हैन, तत्कालिन अवस्थामा देश भरनै एमालेको पक्षमा आशातित परिणाम आउन सकेन ।

ततपश्चात थुप्रै पटक निर्वाचन भैसकेको भएपनि देउजा सर आफु उठनेमा लागेनन, थुप्रै शुभचिन्तक र समर्थकहरुको सल्लाह समेत नमानेर नयाँ पुस्तालाई अवसर दिनु पर्नेमै उभिंदै आए । संसदीय फाँटमा मात्रै हैन, अन्तर पार्टी राजनीतिमा पनि उहाँले कहिले यो वा त्यो मागेनन । लामो समयसम्म तत्कालिन एमाले पार्टीको काभ्रे जिल्लाको प्रमुख रहेका उहाँले एक व्यक्ति एक पद भन्ने अभियान चल्दा जिल्ला पार्टी नेतृत्व युवा नेता बिदुर सापकोटालाई जिम्मा लगाउनु भएको थियो । ततपश्चात पार्टी एकता अगाडिसम्म निरन्तर पार्टीको अनुशासन कमिटी सदस्यको रुपमा क्रियाशील रहेका थिए, अव एकताले मुर्त रुप लिंदा पनि पार्टीले दिएको जिम्मेवारी हाँसीहाँसी स्वीकार्ने नै देउजा सरको लक्षण छ । पार्टीमा पाउन लागेको थोडै हो र ? भन्ने शैलीका देउजा सर वा जसले पनि गर्ने त त्यही नै हो ।

तिन कार्यकाल प्रतिनिधिसभा सदस्य रहिसकेका, पार्टी राजनीतिमा कुनै न कुनै भूमिकामा रहँदै आएका तर लोभ, लालच र भ्रष्टाचारसंग अपरचित देउजा सर जस्तै नेता कार्यकर्ता अरु पनि धेरै भए कस्तो राम्रो हुँदो हो ? अहिले धेरैले यो प्रश्न मनभित्रै गरिरहेका हुन्छन । बनेपातिर भेटिने हरेक नेता कार्यकर्ता देउजा सर जस्तै सवै भए कस्तो हुन्थ्यो भन्ने कल्पनासँगै श्रद्धाले सम्मान गर्छन ।

साभार : जनता टाइम्स

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com