अमेरिका फर्कन नपाइने त्रासले प्लेन टिकट रद्द गर्दै नेपाली


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

अमेरिकाबाट नेपालको यात्रा योजना बनाएका नेपालीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि भटाभट प्लेन टिकट रद्द गर्न थालेका छन् । विश्वका सातवटा देशका नागरिकलाई आवधिक भिसा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रम आवधिक रुपमा रद्द गर्ने ट्रम्पको घोषणापछि अमेरिकाबाट नेपालको यात्रा योजना बनाएका नेपालीहरुले प्लेन टिकट रद्द गर्न थालेका हुन् ।

ट्रम्पको घोषणापछिको एकसातामा मात्र दर्जनौं नेपालीहरुले प्लेन टिकट रद्द गरेर नेपाल जाने तत्कालिन योजना त्यागेको ट्राभल एजेन्सीहरुले जनाएका छन् । न्युयोर्कको ज्याक्सनहाइटमा ट्राभल हाउस नेपाल संचालन गरिरहेका बिष्णुमान प्रधानले आफ्नो ट्राभल एजेन्सीमार्फत दर्जन भन्दा धेरै नेपालीहरुले किनेका टिकटहरु रद्द गराएका र किन्नका लागि बुक गराएका टिकट पनि रद्द गराएका जनाएका छन् ।

प्लेन टिकट रद्द गर्नेमा अमेरिकामा शरणार्थीको स्टेटसमा रहेका र अमेरिकाबाट भारत जान चाहने नेपालीहरुको संख्या उल्लेख्य छ । त्यस्तै टीपीएसमार्फत पूर्व जमानी अर्थात् एड्भान्स परोल लिएर यात्राको योजना बनाएका नेपालीहरुले पनि प्लेन टिकट रद्द गरेका छन् । अमेरिकामा शरणार्थीका रुपमा रहेका र अमेरिकी ट्राभल डकुमेन्टमार्फत नेपाल जाने योजना बनाएका तिब्बतीहरुले पनि प्लेन टिकट रद्द गरिरहेको प्रधानले जानकारी दिएका छन् ।

नेपाल गइसकेपछि अमेरिका फिर्ता हुनमा रोक लाग्नसक्ने त्रासका कारण उनीहरुले प्लेन टिकट रद्द गराएका हुन् । त्यस्तै नेपालबाट विभिन्न भिसामा अमेरिका आउने योजनामा रहेकाहरुले पनि विमानस्थलबाटै फर्कनुपर्ने त्रासका कारण अमेरिकाको यात्रा योजना स्थगित गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com