बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी, २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने


प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।
आजको बैठकबाट नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने प्रस्ताव छ ।

 

नेकपा स्रोतका अनुसार तत्कालीन एमालेले १३ वटा भातृसंगठनको अध्यक्ष पाउने र तत्कालीन माओवादीले ९ वटाको नेतृत्व लिने गरि छलफल अघि बढेको छ । यो संख्या १२ र १० मा टुंगो लाग्ने सम्भावना पनि उत्तिकै रहेको सचिवालयका एक सदस्यले बताए ।

सबैभन्दा प्रभावशाली मानिने युवा र विद्यार्थी संगठनमध्ये पूर्व एमालेले विद्यार्थीको नेतृत्व लिने भएको छ । त्यस्तै युवाको नेतृत्व पूर्व माओवादीले पाउने सम्भावना रहेको छ । मजदूर संगठनको नेतृत्व पनि पूर्वएमाले पाउँदा महिलाको नेतृत्व पूर्वमाओवादीले पाउनेछ ।

संगठनको बाँडफाँडपछि व्यक्तिको बारेमा पनि छलफल हुने बताइएको छ । जिल्ला कमिटी एकीकरणकै मोडलमा साबिक अध्यक्षहरुलाई अध्यक्ष र महासचिव बनाउने वा संयोजक तथा सहसंयोजकको मोडलमा जाने भन्ने टुंगो बैठकबाटै लाग्ने बताइएको छ ।

पार्टी एकीकरणको एक वर्ष पुगेको अवसरमा जेठ ३ गते शुक्रवार जनवर्गीय संगठनहरुको एकीकरण टुंग्याउने प्रयास भइरहेको नेताहरुले बताएका छन् । नेकपा स्रोतका अनुसार युवाको अध्यक्ष पूर्व माओवादीले पाउँदा रामप्रसाद सापकोटा अध्यक्ष हुनेछन् ।

सचिवालय बैठकमा पोलिटव्यूरो सदस्यहरुको नाम टुंगो लगाउने र केन्द्रीय सदस्यहरुको कार्यबिभाजनका बारेमा पनि छलफल हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com