पारिवारिक आधारमा यी नेपालीले पाउनेछन् जुन महिनामा ग्रिनकार्ड


प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनामा पारिवारिक आधारमा ग्रिनकार्ड पाउनेहरुको प्राथमिकता मिति प्रकाशित गरेको छ । जसमा नेपालीहरु पनि समेटिएका छन् ।

भिसा बुलेटिन अनुशार जुन महिनामा अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरुका सन्दर्भमा १५ फरबरी २०१२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड पाउनेछन् । यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नका लागि अहिले झण्डै साढे ७ बर्षको अवधि लाग्ने गरेको छ ।

ग्रिनकार्डवाहकका श्रीमति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीका सन्दर्भमा ग्रिनकार्ड पाउन झण्डै २ बर्ष लाग्ने गरेको छ । यो श्रेणीमा जुन महिनामा १५ जुलाई २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुले ग्रिनकार्ड प्राप्त गर्नेछन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका सन्दर्भमा झण्डै ६ बर्ष लाग्ने गरेको छ । जुन महिनामा १५ मे २०१३ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुले ग्रिनकार्ड पाउनेछन् ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका सन्दर्भमा झण्डै साढे १२ बर्ष लाग्ने गरेको छ । २२ डिसेम्बर २००६ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुले जुन महिनामा ग्रिनकार्ड प्राप्त गर्नेछन् ।

अमेरिकी नागरिकका दाजुभाईदिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड प्राप्त गर्न झण्डै १३ बर्ष लाग्ने गरेको छ । यो श्रेणीमा १ अप्रिल २००६ भन्दा अगाडि प्राथमिकता भएकाहरुले जुन महिनामा ग्रिनकार्ड प्राप्त गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com