यस्ता छन् ओलम्पिक्सका लागि जापानका चुनौती र तयारीहरु


प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार

जापानमा सन् २०२० मा हुने ओलम्पिक्सको तयारी भव्य चलिरहेको छ । जापानमा ५६ वर्षपछि आयोजना हुन लागेको टोकियो २०२० ओलम्पिक्समा जापानको तयारी गजब छ । यसका लागि टोकियो र समग्र जापानले नै पुरा तयारी र परिवर्तनहरु गरिरहेको छ । जापानको आफ्नै परम्परा र संस्कृति छ जसले हामी सबैलाई सधैं आश्चर्यमा पारिराख्छ । यस खेलका लागि टोकियामा थुपै्र भेन्युको निर्माण गरिएको छ भने यहाँ गरिने कामहरुलाई पनि नयाँ दृष्टिकोणको विकास गरिएको छ ।

ओलम्पिक्सका कारण जापानलाई फाइदा तथा वेफाइदा दुबै छन् । आजको लेखमा तिनै विषयमा चर्चा गर्दैछौं ।

बढ्दो विश्वव्यापिकरण

जापान होमोजिनियस राष्ट्र भएकाले अधिकांश मानिससँग बाहिरी विश्व र संस्कृतिसँग अन्तकृया गर्ने अवसर प्राप्त हुँदैन । पछिल्लो समय जापानमा पर्यटकको संख्या बढेको भएपनि यो विश्व स्तरबाट निकै टाढा छ । ओलम्पिक्सको समयमा चाहिँ टोकियोमा विश्वभरीका मानिसको जमघट लाग्ने भएकाले बाहिरी विश्वलाई बुझ्ने अवसर जापानीहरुले पाउँछन् ।

जापानको प्रबद्र्धन

दोस्रो विश्व युद्धपछि जापानले आर्थिक समृद्धि विस्तार गर्न र अन्तराष्ट्रिय रुपमा आफ्नो छवी सुधार्न निकै प्रयासहरु गर्दै आएको छ । उसले पप संस्कृतिको माध्यमबाट अन्तरराष्ट्रिय छवी सुधार्ने प्रयास गरेको हो । जापानले विश्वलाई आफ्नो शान्त छवी प्रस्तुत गर्न चाहेको छ । हेल्लो किटट्ी, ड्रागन बल र पोकमन लगायतका माध्यमबाट यस्तो हुँदै पनि आएको छ । हाराज्युकु र आकिहावारा जस्ता पप संस्कृतिको घर टोकियोमा ओलम्पिक्सको आयोजना गरेर जापानी सरकारले विदेशी पाहूना समक्ष राम्रो छाप छोड्ने आशा लिएको छ । यसले भविष्यमा जापानको पर्यटन क्षेत्रमा उछाल ल्याउन ठूलो उत्प्रेरणा मिल्ने अनुमान गरिएको छ ।

राष्ट्रिय गौरवको निर्माण

जहाँसुकै ओलम्पिक्स आयोजना भए पनि त्यो राष्ट्रको गौरव हुन्छ । यस्ता किसिमका खेलहरुको आयोजना गरेर देशको गौरव बढाउन सहयोग पुग्छ ।

बेफाइदाहरु

जापानीहरु कामहरु गर्ने तरिकामा एकदमै पक्का हुन्छन् । उनीहरुले गर्ने हरेक कुरा निर्धारित रुपमा तय गरिएको हुन्छ । यसले कहिलेकाहिँ समस्या पनि निम्त्याउन सक्छ ।

विदेशी पाहूनाको व्यवहार

जापान विश्वमा नम्र र कानूनी रुपमा आबद्ध राष्ट्रका रुपमा परिचित छ । जापानका प्राय सबै कुराहरु अन्य राष्ट्रभन्दा फरक हुन्छन् र यी अधिकांश विदेशीका लागि नौला हुन्छन् । जापानमा हुने अधिकांश दैनिक व्यवहारहरु विदेशी पर्यटकका लागि अनजान हुने भएकाले यसले टोकियो जस्ता ठूला शहरमा कहिलेकाहिँ समस्या पनि निम्तिन सक्छ ।

अंग्रेजी

जापानमा जापानी भाषालाई बढी प्राथमिकता दिइन्छ र त्यसैकारण यहाँ अंग्रेजी भाषी त्यति फेला पर्दैनन् । यसले गर्दा अंग्रेजी मात्रै बुझ्नेहरुका लागि यसले केही समस्या ल्याउन सक्छ । ओलम्पिक्सको कुरा गर्दा पनि अंग्रेजी बोल्ने सिमित कामदार भएको राष्ट्रमा ओलम्पिक्सका लागि थप कामदारको खोजी गर्नु निकै चुनौतीपूर्ण कार्य भएको छ ।

ओलम्पिक पछिको आर्थिक सुस्ती

ओलम्पिकको तयारीका लागि लाग्ने खर्च निकै धेरै छ । यसको समाप्तिपछि आउने आर्थिक मन्दीको चिन्ता पनि उत्तिकै छ । यसका लागि निर्माण गरिने संरचना पछि काम लाग्ने हुन् वा त्यत्तिकै खेर जाने हुन्, यसै भन्न सकिँदैन ।

भीड

यसै पनि टोकियोको जनसंख्या धेरै मध्य पर्छ र ओलम्पिक्सको समयमा त यो संख्या थप बढ्छ नै । यसले त्यहाँको भीडलाई थप बढाउने देखिएको छ ।

मौसम

जापान चार ओटा मौसमका लागि परिचित छ । गर्मीमा यहाँको मौसम चरम उचाइमा पुग्छ । यो बेला तापक्रम सहनै नसक्ने स्थितिमा पुग्छ । ओलम्पिक्समा ५० प्रतिशत खेलहरु आउटडोर हुने भएकाले यसले खेलाडीहरुको हालतलाई जोखिममा राख्न सक्ने देखिएको छ ।

चुनौतीहरु

जापानमा श्रमिकको चरम अभाव परेका कारण ओलम्पिक्सका लागि पनि कामदार खोजी गर्न कठिन परेको छ । यस खेलका लागि त सधैंभन्दा बढी कामदारको आवश्यकता पर्छ । जापानमा अहिले अधिकांश क्षेत्रमा कामदारको अभाव खड्किएको छ । यसैकारण सरकारले बढीभन्दा बढी विदेशी कामदार जापान भित्र्याउने तयारी पनि शुरु गरिसकेको छ ।

ओलम्पिक्सको बजेट पनि धेरै छ । यो महंगो खेल हो भने यसका लागि आवश्यक पूर्वाधारको निर्माणमा पनि उत्तिकै रकम खर्च हुन्छ । तर ती पूर्वाधार ओलम्पिक्सका लागि मात्रै सिमित हुने र यसले पछि आर्थिक सुस्ती निम्त्याउने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । यस्ता देखा परेका चुनौतीसँग जुझ्न जापानले राम्रै तयारी गरेको छ । कामदारको अभावलाई मध्यनजर राख्दै यस खेलमा बढी भन्दा बढी रोबोटको प्रयोग गरिने भएको छ , त्यस्तै मौजुदा पूर्वाधारको पुनः प्रयोग गर्ने प्रयास पनि गरिने छ । टोकियोले नयाँ निर्माण गरिनु पर्ने संरचनाको संख्या पनि सकेसम्म घटाएको छ । विदेशी पाहूनालाई भाषाको बाधा हटाउने तयारी समेत गरिएको छ ।

समग्रमा जापानले ओलम्पिक्स्को तयारीका लागि सक्दो राम्रो प्रयास गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com