सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध : प्रकाशमान सिंह


प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो ।

नीति तथा कार्यक्रम नारै नाराले भरिएको कार्यक्रमजस्तो भएको आरोप लगाउँदै नेता सिंहले काठमाडौँ उपत्यकाभित्रको धुलो हट्न नसकेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत पनि राम्रो नभएको बताउनुभयो । नीति तथा कार्यक्रममा समावेश गरिएका केही विषय सकारात्मक रहे पनि कार्यान्वयन भने मुस्किल रहेको उहाँले उल्लेख गर्नुभयो । दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य सहजै पूरा नहुने भएकाले त्यसका लागि थप रु १७ खर्ब लगानी गर्नुपर्नेमा जोड दिँदै नेता सिंहले पूरा हुने मात्रै सपना देख्न सुझाब दिनुभयोे ।

सोही दलका बालकृष्ण खाँडले सरकारले संविधानको मूल्य र मान्यता विपरीत गतिविधि गरेको आरोप लगाउँदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै गलत संस्कार स्थापित गर्न खोजिएको बताउनुभयो । प्रस्तुत नीति तथा कार्यक्रममा चालू आवको नीति तथा कार्यक्रमका विषयलाई निरन्तरता नदिइएको उहाँले गुनासो गर्नुभयो । काङ्ग्रेसकै देवेन्द्रराज कँडेल र उमा रेग्मीले सरकारको नीति तथा कार्यक्रमले यर्थाथतालाई अवलम्बन गर्न नसकेको आरोप लगाउनुभयो ।

सङ्घीय समाजवादी फोरमका उमाशङ्कर अरगरियाले कृषि, पर्यटन, जलविद्युत् क्षेत्रलाई प्रस्तुत कार्यक्रममा प्रमुख प्राथमिकता दिइएकामा धन्यवाद दिनुभयोे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com