सामन्ती चिन्तन भएकाले राष्ट्रपतिको सम्बोधनमाथि विरोध गरे : प्रधानमन्त्री ओली
प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिले सम्बोधनमा ‘मेरो सरकार’ भनेकामा विरोध गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भनेको तर्क गर्नुभयो । गत शुक्रबार राष्ट्रपति विद्यादेबी भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा आलोचना भएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्दा विरोध गर्नेहरुलाई भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेर्न पनि पटकपटक आग्रह गर्नुभयो । ओलीले मेरो देश र मेरो सरकार भन्दैमा अरुको होइन भन्ने नबुझ्न पनि आग्रह गर्नुभयो ।
आज सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसबाट निर्वाचित भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भारतीय जनता पार्टीको सरकारलाई पनि पटकपटक मेरो सरकार भन्ने गरेको उदाहरण पनि पेश गर्नुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सर्वोच्च पद भएकाले सेना परिचालन गर्ने, संसदले पारित गरेको विधेयकलाई प्रमाणित गर्ने काम गर्ने गरेको पनि बताउनुभयो ।






