अछाममा माटोमुनि भेटियो १८ तोला सुन
प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार
क्याम्पस भवनको जग खन्ने क्रममा अछाममा माटोमुनि गाडिएको अवस्थामा १८ तोलाबराबर सुनका परम्परागत गहना भेटिएका छन् । साँफेबगर नगरपालिका वडा नम्बर २ श्रीकोटस्थित त्रिपुरासुन्दरी क्याम्पसको भवन निर्माणको क्रममा जग खन्दा सुनका गहना भेटिएका हुन् ।
सुनसँगै चाँदी र अन्य बहुमूल्य धातुसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जग खन्ने क्रममा मजदुरले पोकोभित्र ती गहना भेटेका थिए ।
उनीहरूले ती गहना आपसमा बाँडेका थिए । तर, भागबन्डा गरेर सुन बाँडिएको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि सुनका गहना भेटिएको सार्वजनिक भएको हो । प्रहरीले अहिले पनि उनीहरूलाई नियन्त्रणमै राखेको छ ।
पक्राउ पर्नेमा साँफेबगर ४ का २२ वर्षका हरिजन साउद, ३० वर्षका मीन ठकुल्ला, ३५ वर्षका कृष्ण ठकुल्ला, ३० वर्षका महेन्द्र बुढा, १९ वर्षका पिटर ठकुल्ला, २४ वर्षका कालु नेपाली र २४ वर्षकै आशिष लामा छन् ।
उनीहरूबाट बरामद गरेपछि प्रहरी स्थानीय व्यवसायीसँग ती धातुको जाँच गराएको थियो । जाँचको क्रममा १८ तोला ७९ लाल सुन र अन्य बहुमूल्य धातु रहेको पुष्टि भएको हो ।






