हत्या आरोपमा यूएईमा ५ वर्ष जेलजीवन बिताएर फर्किए खड्गबहादुर जोगी


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

पाँच वर्ष पहिलेबाट यूएईको आबुधाबीमा जेल जीवन बिताइरहेका फेदाप-२ तेह्रथुमका खड्गबहादुर जोगी नेपाल फर्किनु भएको छ ।एउटै कम्पनीमा कार्यरत फिलिपिनो नागरिकको हत्या आरोपमा जेल पर्नु भएका जोगी ब्लडमनीबापतको २ लाख (झण्डै ६० लाख रुपैयाँ) रकम तिरेर बिहीबार बिहान नेपाल फर्किनु भएको हो ।

जोगीले पीडित परिवारलाई तिर्नु पर्ने ब्लडमनी गएको महिना दूतावासमार्फत अदालतमा बुझाइएको थियो । ब्लडमनी बुझाएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जोगी बिहीबार बिहान हिमालयन एयरलाइन्समार्फत नेपाल फर्किएको नेपाली दूतावास आबुधाबीका प्रवक्त्ता तथा नियोग उप-प्रमुख सागरप्रसाद फुयालले उज्यालोलाई जानकारी दिनुभयो ।

जोगीलाई गएको सातादेखि आबुधाबीको डिपोर्टेसन सेन्टरमा राखिएको थियो । आवश्यक ‘ट्राभल अनुमति’ पत्र गएको आइतबार नै दूतावासमार्फत बनाएर सम्बन्धित निकायलाई बुझाइएको र बिहीबार नेपाल फर्काउन सकिएको दूतावासका स्थानीय जनसम्पर्क अधिकृत इरफान आलमले बताउनुभयो ।

जोगीलाई आफ्नै सहकर्मी फिलिपिनो नागरिकको हत्या गरेको अभियोगमा सन् २०१४ मे मा पक्राउ गरी जेल चलान गरिएको थियो । आबुधाबीको अल वात्बा जेलमा कैदी जीवन भोगिरहेका जोगीलाई गएको मार्च २७ सम्म जेल बस्नुपर्ने र २ लाख दिर्हाम ब्लडमनी (झण्डै ६० लाख रुपैयाँ) तिरेपछि यूएई निकाला गरेर स्वदेश पठाउने फैसला अदालतले गरेको थियो ।

अदालतको फैसलाअनुसार आवश्यक पर्ने ब्लडमनीका लागि परिवारले अपिल गरेपछि इजरायलमा कार्यरत तेह्रथुमका देव बाँस्कोटाको पहलमा देश तथा विदेशमा रहेका नेपालीमार्फत ‘जोगी बचाउ अभियान’ चलाएर विभिन्न मुलुकमा रहेका नेपालीबाट ६१ लाख ९४ हजार रूपैयाँ संकलन गरेको थियो ।

संकलन गरेको रकम दुई महिना पहिले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको उपस्थितिमा यूएईका लागि नवनियुक्त्त राजदुत कृष्णप्रसाद ढकाल, नियोग उप-प्रमुख सागरप्रसाद फुयाँललाई हस्तान्तरण गरिएको थियो । त्याे रकम आबुधाबीमा रहेको नेपाली दूतावासमार्फत अदालतमा बुझाएपछि जोगी नेपाल फर्किनु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com