राष्ट्रपतिको सवारीले आकाशमा तनाव, एयर चाइनाको जहाज भारतमा अवतरण
प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि चीनको राजकीय भ्रमण एक दिन छोट्याएर स्वदेश फर्किनुभएको छ ।
बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएको हो । राष्ट्रपतिले तिब्बतमा महत्वपूर्ण भेटघाट भने हिजै गरिसक्नुभएको थियो ।
यसैबीच, राष्ट्रपति भण्डारीको सवारीका कारण आज पनि काठमाण्डौको आकाश खाली गराइएको थियो । राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आउनुभएकी राष्टपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि पनि धेरैबेर पछि मात्र अरु जहाजले पालो पाएका थिए । राष्ट्रपतिको जहाज आउनुअघि चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाएपछि उतै फर्किएको छ ।
यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्सको जहाज पनि भारततिर फर्किएको छ । वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि जहाज फर्किएको हो । मुम्बइबाट आएको इथोयोपियन एयरलाइन्सको जहाजले पनि निकैबेर आकाशमा फन्को लगाएको थियो ।
राष्टपति भण्डारी चीन जाने बेलामा पनि झण्डै ४० मिनेट उडान र अवतरण ठप्प भएको थियो । राष्ट्रपतिको सवारीको बेला हवाइ उडान र सडक यातायात ठप्प बनाउँदा यात्रुले हैरानी खेप्नु परेको छ ।