उपचार नपाएर हुम्लामा ९ जनाको मृत्यु, औषधि पुर्‍याउन सरकारसँग हेलिकोप्टर छैन


प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार

हुम्लाको ताँजाकोट गाउँपालिका–२ जिमाना गाउँ जहाँ तीन सातादेखि महामारी फैलिएको छ । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’

सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदल जान तीन दिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन । जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्‍याउन सरकारले हेलिकोप्टरसमेत व्यवस्था गर्न सकेको छैन ।

महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीय जगत शाहीले बताए । याे खबर आजकाे नयाँ पत्रिकामा छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com