क्यानडा निवासी गौतमबिरुद्ध मानवतस्करीको अभियोगमा रेड कर्नर नोटिस जारी


प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

नेपालबाट झण्डैं एक दर्जन मुलुक हुँदै अमेरिकामा मानव तस्करी गरेको आरोपमा क्यानडा निवासी सुदर्शन गौतमविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । झण्डै ८ महिनाको प्रक्रियापछि गौतमलाई पक्राउ गर्न प्रहरीले यो कदम चालेको हो ।

क्यानडामा बस्दै आएका गौतमले केहि बर्षअघि रेखा थापासँग मिलेर चलचित्र हिम्मतवाली निर्माण गरेका थिए । प्रहरी महानिरीक्षक सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोल सदस्य १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।

गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लैजाने वहानामा विभिन्न देश हुँदै हाइटीमा लगेका थिए । अमेरिका लैजाने क्रममा त्यसबेला कतिपयको समुन्द्रमै निधन भएको थियो । चलचित्रको सुटिङको बहानामा उनीहरुलाई हाइटी लगिएको थियो ।

हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका लैजाने योजना रहेपनि पानीजहाज बिग्रिएपछि बीच बाटोमै उनीहरु अलपत्र परेका थिए । त्यसै क्रममा बहामासमा पक्राउ परेका उनीहरुलाई अमेरिकी दूतावासको सहयोगमा नेपाल फर्काइएको थियो । अनुसन्धानका क्रममा गौतम मानव तस्कारका मुख्य व्यक्तीमध्येका एक रहेको देखिएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

उनी आफै अदालत उपस्थित नभएपछि नेपाल प्रहरीले अन्तराष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोललाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको प्रहरीले जनाएको छ । सुर्दशन बिरुद्ध दर्जनौं नेपाली युवा–युवतीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोप छ ।

गौतमका केहि सहयोगी भने एक बर्ष अगाडीनै पक्राउ परेका थिए । गौतम क्यानडाका पिआर वाला व्यक्ती हुन् । दुबै हात नभएका अभिनेता गौतम केहि बर्षअघि सगरमाथा समेत चढेर चर्चामा आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com