डा. विष्णुमायालाई काठमाडौंमा ग्लोबल युथ लिडरसीप अवार्ड


प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

एड्वनका संस्थापक अध्यक्ष तथा अधिकारकर्मी डा. विष्णुमाया परियारलाई ‘ग्लोबल युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रमा परियारलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले संयुक्त रुपमा सो अवार्ड प्रदान गर्नुभएको हो ।

सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको परियारलाई विशेषसम्मान सहित उहाँले समाजमा पुर्याएको योगदानको कदरगर्दै यो अवार्ड प्रदान गरिएको हो ।

उहाँले हावर्ड विश्वविद्यालय प्रदान गर्ने ‘ब्रिज विल्डर अवार्ड’ र डा ‘अम्बेड्कर ग्लोबल चेन्ज मेकर अवार्ड’ लगायतका दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ ।

गोरखाको दुर्गम ताक्लुङ गाविस कोटगाउँको दलित बस्तीमा जन्मिएकी  अधिकारकर्मी डा. विष्णुमाया परियारको पहलमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी काउन्सिलबाच टिपिएस रिजोलुसन पास भएको थियो । यस्तै सन् २०१७ को जुन ३० मा नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकि भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक काम गर्न उहाँ सफल हुनुभएको थियो । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो ।

डा. परियारको पहल र नेतृत्वमा २०१९ को जनवरी २४ तारिख अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी बनाउने सहमति समेत भएको थियो । समाजिक क्षेत्रमा क्रियाशील परियार दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित व्यत्तित्व हुनुहुन्छ । डा. परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको छ ।
न्यूयोर्कमा स्थापित विश्वका १५५ भन्दा बढी देशहरुका वाणिज्यदूतावासहरुको संगठन ’सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मान गरेको थियो ।

जर्सी सिटी मेयरकी सल्लाहकार डा. परियार संस्थापक अध्यक्ष रहेको एड्वानले हालसम्म नेपालका सात जिल्लाहरुका २७ गाबिसमा स्थापित २९२ महिला समूहहरु मार्फत झण्डा ५० हजार महिला तथा उनीहरुका परिवारका सदस्यहरु र ३५ बिद्यालयहरुका २३ हजार भन्दा बढी बालबालिकाहरुलाई सामाजिक र शैक्षिक रुपमा सहयोग गर्दै आएको छ ।

 

जीवनयात्रा : गाउँमा अछुत भनेर हेपिएकी बिष्णुमाया अमेरिकामा मेयरकी सल्लाहकारसम्म

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com