देशभरका अदालत ठप्प पार्ने चेतावनी
प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले देशैभरका अदालत ठप्प पार्ने चेतावनी दिएको छ। युनियनले २०७५ साउनदेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता नदिएको, न्यायाधीश नियुक्तिलगायतका विषयलाई लिएर देशैभर आन्दोलनको घोषणा गरेको हो।
युनियनका अध्यक्ष प्रकाश पराजुलीले सरकारले निर्णय गरेर अदालतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भनिए पनि अहिलेसम्म नपाएकाले आन्दोलन गर्नुपरेको बताए। युनियनले बिहीबार र शुक्रबार कालोपट्टी बाँधी काम गर्ने र १५ गतेदेखि २२ गतेसम्म दैनिक १ देखि ६ घण्टासम्मा कार्यालय समय कार्य बहिष्कार गर्नेजस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ।
त्यस्तै सोही अवधिमा माग सम्बोधन नभए त्यसपछि पूरै समय बहिष्कार गर्ने योजना रहेको युनियनका अध्यक्ष पराजुलीले बताए। देशैभर आन्दोलनका कार्यक्रम जारी रहेको उहाँको दाबी छ ।
कर्मचारीले आईतवारदेखि बिहीबारसम्म दैनिक डेढ घण्टा र शुक्रबार २ घण्टा कार्यालय समय बढाइेअनुसार काम गरिरहेका छन्।
त्यस्तै गरी साउनदेखि मासिक ८० घण्टा अतिरिक्त समय काम गरे शुरु तलब स्केलको ५० प्रतिशत भत्ता दिने भनिएको समेत बेवास्त गरेकाले ७ दिनभित्र भत्ता दिने ग्यारेन्टी नगरिए आन्दोलनलाई निरन्तरता दिने युनियनले जनाएको छ।





