साउदीमा ११ सय ६३ नेपाली कामविहीन, १० करोड तलब पाउन बाँकी
प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार
साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कन्स्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन पर्खिरहेका छन्।
समयमा कामदारलाई तलब दिन नसकेर संकटमा फसेको अजमिल कम्पनीमा झन्डै ३७ हजार विदेशी कामदार थिए । पछिल्लो एक वर्षमा मात्रै उसले २० हजार कामदार फिर्ता पठाइसकेको छ । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले नेपाली कामदार तीन महिनाभित्र फिर्ता भैसक्ने आशा व्यक्त गरे ।
‘श्रम कार्यालयका महानिर्देशकसँग कुरा गरेका छौं, कम्पनीलाई तीन महिनाको समय दिएको उनले बताएका छन्,’ राजपुतले भने। त्यस कम्पनीमा कार्यरत नेपालीले मात्रै झन्डै १० करोड रुपैयाँ तलब पाउन बाँकी छ ।
कम्पनीले धेरै तलब बाँकी रहेका नेपालीलाई पठाएको छैन । त्यहाँ मासिक एक हजारदेखि तीन हजार रियालसम्म तलब पाउने नेपाली छन् । कम्पनीले नोभेम्बरसम्मको मात्रै तलब भुक्तानी गरेको छ । फेब्रुअरीदेखि काम दिएको छैन ।
छाडेर जाने कामदारलाई प्राथमिकतामा राखेर स्वदेश पठाइरहेको छ । गएको एक वर्षमा मात्रै ९ हजार नेपाली स्वदेश फर्किसकेको बताइेको छ । ‘साउदीमै अर्को कम्पनीमा गएर काम गर्न चाहने नेपाली कामदारलाई रिलिज दिने व्यवस्था मिलाइेको छ,’ राजपुतले भने,
‘सयभन्दा बढी नेपालीले साउदीमै काम गर्न इच्छा देखाएका छन् ।’ उनले इकामा -भिसा भएका) कामदारलाई छिट्टै पठाउन सजिलो हुने बताए । ‘समस्या समाधानका लागि साउदी सरकारले समन्वय गरिरहेको छ ।साउदीले गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गरिरहेको छ,’ उनले भने।
कामविहीन भएका कामदारलाई कम्पनीले साउदीको विभिन्न ठाउँमा राखेको छ । सबैभन्दा बढी दमामको दहरान क्याम्पमा ४ सय ५०, जुबेलमा २ सय ५०, खोवरमा ३ सय, जेद्दाभन्दा २ सय किमि परको रबिकमा एक सय र बाँकी अन्य क्याम्पमा राखिएका छन्। ती कामदारसँग दमामस्थित नेपाली दूतावासका प्रतिनिधि हरि घिमिरे नियमित सम्पर्कमा छन्। उनले श्रम कार्यालय र कम्पनीसँग समन्वय गरिरहेको बताए ।
‘अलपत्र कामदारलाई यथासक्य छिटो पठाउन पहल भैरहेको छ,’ उनले भने, ‘कम्पनीले नेपालीसहित १५ हजार विदेशी कामदार पठाउनुपर्ने भएकाले केही समस्या देखिएको हो।’ उनले ८० प्रतिशत नेपाली कामदार स्वदेश फिर्न सफल भैसकेको बताए।
नेपाली कामदारका अनुसार पाकिस्तानी कामदारले हडताल गरिदिएपछि कम्पनीले नियमित कामदार आपूर्ति गर्न नसक्दा ठेक्का गुमेको थियो । त्यस कम्पनीमा पाकिस्तानी कामदारको बाहुल्य छ।
दमाम क्याम्पमा रहेका हरि बुढाथोकीले खानामा समस्या देखिन थालेको बताए । ‘७ महिनादेखि बिना काम बस्ने साथीहरू पनि छन्। जति दिन लम्बिँदै गयो, कम्पनी थप संकटमा फस्दै गएको जस्तो लाग्छ,’ उनले भने,
‘भोलि के हुन्छ भनेर सधैं त्रासमा बस्नुपरेको छ।’ उनले थोरै मात्रै कामदार पठाइने गरेको बताए। ‘हजारौं कामदार अलपत्र परेका छौं, महिनामा ३०४० जना पठाउँदा समुद्रबाट एक गाग्री पानी निकालेको जस्तो हुन्छ,’ उनले भने। कान्तिपुर दैनिक






