भूकम्प संस्मरण : परिवारका सबैको मृत्यु भएछ, टाउकोभित्र माटो पसेर पनि उनी बाँचे
प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार

जानुका थापा
बैशाख १२,२०७२ सायदै कुनै नेपालीले भुल्न सक्लान् । दिउसोको ११ः५५ बजेको समय, त्यो कालो दिन र समयको अंक अझै पनि यी आँखा वरिपरि घुमिरहेका छन् । बिडम्वना, देशलाई दशा लागेको समय थियो त्यो । ती नमिठा यादहरु आज पनि सपनीमा तर्साउन आउँछ अनि झंस्याङ्ग पारेर जान्छ ।
त्यस घटनाले हरेक नेपालबासीलाई आज पनि उतिक्कै त्रसित बनाउछ की भ¥याङ हल्लदा, ढोका ठुलो स्वरमा बन्द हुदा या ठुलो स्वरमा कोही बोल्दैमा पनि एैंठन हुन्छ । भू–कम्पले तहस नहस पारेका खम्बाहरु फेरी ठडिदैंछन् तर हाम्रो मनमा अनि मानसपटलमा जमाएको डरको डेराले अझै छाडेको छैन् ।
खासगरी म आफैलाई निकै निडर र साहसी मान्थे तर त्यस यता मलाई त्यस्तो लाग्न छाडेको छ । म आफै पनि निकै नै डराएको महसुस गर्न थालेको छु । यो त्रास हटन उति सजिलो छैन तर पनि हट्छ भन्ने विश्वासका साथ सबै नेपाली पुनः स्थापना र पुनःनिर्माणमा डटिनै रहेका छौ ।
हिजोजस्तै लाग्छ मलाई त्यो दिन, मध्यपुर अस्पतालमा ३६ घण्टा विरामीको सेवा गरिसकेपछि घर आएको । घर आईपुग्दा टोलभरिका मानिसहरुले भरिभराउ चौर र खुल्ला मैदान हेर्दा लाग्थ्यो कुनै कुम्भ मेलामा आइपुगें । मेरो पनि त्यही मिसिने बाहेक अरु विकल्प थिएन किनकी घरभित्र जान सक्ने स्थिति नै थिएन । फुपुसंगै करिव १०–१५ रात त्यही खुल्ला आकाशमुनि नै विताइयो ।
आफ्नो खानपिन र स्वास्थ्यको चिन्ता त थियो नै तर म जुन पेशामा छु त्यसले मलाई स्वार्थी हुन दिएन । म र मेरो मात्र भनेर बस्न सकिन । देश संकटमा परेको बेला क्षमताले भ्याएसम्म सेवारत रहे । त्यसक्रममा फस्टएड र अन्य राहतको सामानको ब्यबस्था गरिदिने, बेंगलोरमा इन्जिनियरिङ गरिरहेका मेरो दिदिको छोरा असिम जिसीलाई सम्झिरहेको छु । संकटका बेलामा जहा रहेका भएपनि नेपाली छोराछोरीहरुले आफनाहरु मार्फत गरेको सानोतिनो सहयोग नै किन नहोस त्यसको ठुलो महत्व छ । तर त्यसबेला पनि नेपालको झन्झटिलो भंसार प्रक्रियाले निकै नै अप्ठेरो बनायो । तरैपनि आफु कार्यरत मध्यपुर अस्पतालको सहयोगमा राहत सामाग्रीलाई भन्सार छुट गरिकन सही ब्यवस्थापन गरियो ।
करिव १६ टन सामान हामीले सहयोग स्वरुप पाएका थियौ । म कार्यरत अस्पताल, सिभिल अस्पताल लगायत भाई असिमको टिम मिलेर सिन्धुपाल्चोकको गाँउ गाँउमा राहत सामाग्री र प्राथमिक उपचारको सामानहरु वितरण ग¥यौ । त्यसका अलावा विभिन्न टोलिको सहयोगमा भूकम्प प्रभावित गोरखा, नुवाकोट,भक्तपुर, दोलखा लगायतका स्थानमा पनि हामी राहत पु¥याउन सफल भयौ ।
त्यस घटना र त्यसपछिको मेरो क्रियाशिलताले म आफ्नै नेतृत्व क्षमतालाई निखार्दै, राष्ट्रिय स्तरको समन्वय र मेहनत गर्न उत्प्रेरणा जगायो । कोशिस गरे हरेक अप्ठ्यारा र मुस्किल समय अनि कामहरु पनि सजिलै हुने रैछ भन्ने कुुरामा विश्वास दिलायो । मुख्य कुरा, आफ्नो देशप्रति माया, आफूले दिने योगदान, आफनो सिप र ज्ञानको सही सदुुपयोग गरे यो जीवन अवश्य सार्थक हुने रैछ भनेर बुझ्ने मौका मैले त्यस दर्दनाक समयमा महसुस गरें ।
विनाशकारी भूकम्प आएको १५ दिन भैसकेको थियो । मानिसहरुको मनमा त्रास र परकम्पनले सातो लिन अझै छाडेको थिएन् । एकाबिहानै फोन बज्यो –“हेल्लो ! तपाईको पहलमा आएको राहतसंगै हामीपनि मिलेर केही हेल्प गर्न सक्छौ कि भनेर फोन गरेको ।” अष्ट्रेलियाबाट आएका नेपाली नर्स र उनका साथीहरुको टोली रैछ ।
उनिहरुले पनि करिव एक ट्रक सामान ल्याएका रहेछन् । यत्तिकैमा दोलखाका थामीहरुको बस्ती रहेको एउटा गाँउमा अझैसम्म पनि कत्तिपनि राहत नपुगेको थाहा हुन आयो । हामी अष्ट्रेलियन टोलीसंगै त्यतै जाने निधो ग¥यौ । म आफै नर्स भएतापनि तर एकजना डक्टर पनि हुदा राम्रो हुन्थ्यो तर डक्टरको अभाव भयो । भएका डक्टरहरु सवै स्वयंसेवामा खटिनै रहेका थिए । त्यस दिन मलाई महसुस भयो कि हाम्रो देशमा चिकित्सकहरुको र अन्य कुनै पनि दक्ष जनशक्तिको निकै नै अभाव छ ।
बिना डक्टर नै हामी लाग्यौ दोलखातिर तर त्यसदिन ढिला गरि हिडेकाले मुडे पुग्दै रात प¥यो । त्यही बास बसियो । होटलका साहुजि नै त्राहिमाम थिए बल्लतल्ल सुत्ने ठाउँ मिलाइदिए । नभन्दै राती त बम पडकिए झै आवाज आयो । परकम्पन आउदा पहाड गर्जिएर त्यस्तो आवाज आउने रहेछ । बिहान सबेरै उठेर लाकुरीडाडा गाविस तर्फ लाग्यौ । गाविस सचिव संग पनि समन्वय गरिसकेका थियौ फोनबाट । त्यहाँ पुगेर गाउँलेलाई पायक पर्ने ठाँउ पारेर फस्ट एड र राहत वितरण स्थल बनायौ ।
करिव बिहानको १० बजिसकेको थियो । घाइतेहरु आउन थाले । कोहीको टाउकोमा त कोहीको तिघ्रामा चोट । हृदयविदारक थियो तर पनि आवश्यक मलमपट्टी गरेर पठायौ । तर त्यसविचमा एकजना अलिक गंभिर घाइते अधबैंंसे पुरुषलाई पनि बोकेर ल्याइएको थियो । त्यस गाँउमा दिउसोको समयमा सबैजना मकै रोप्न बारमा भएका कारण मृत्यु हुनेको संख्या कम थियो । तर उनको परिवार अभागी परेछन । सबैजना घरमा भएका कारण घरले थिचेर सवैको मृत्यु भएछ । उनिचाही भाग्यले बाँचेछन र चिच्याएछन अनि छिमेकीहरु गएर उद्धार गरेका रहेछन् । उनका टोलाएका आँखाहरु देखेर निकै नै अमिलो महसुुस भयो ।
उनीसंग छोटो संवाद गरें र उनको उपचार गर्न तर्फ लागे जव उनको टाउको देखें झनै डरलाग्दो देखें, स्तब्धै भएँ । उनको टाउकोमा करिब १० सेन्टिमिटर जति लामो माटोको ठुलो चपरी थियो । मलाई गोवर जस्तो लाग्यो तर सुकिसकेर कडा भएको कालो माटो रहेछ ।
उद्धारका क्रममा उनको टाउकोमा लागेको चोट र रक्तश्राव रोक्नका लागी उद्धारकर्ताले माटो हालिदिएका रहेछन । माटोका कारण टिटानसको संक्रमण हुने खतरा रहन्छ जसले गर्दा तुरुन्तै मानिसको मृत्यु हुनसक्छ । धन्य उनको भाग्य नै भनौ टिटानसको कुनै संक्रमण भने देखिएन । मेडिकल साइन्सको विद्यार्थी म आफैले यो देखेर छक्क परें । र थोरै भएपनि चमत्कारमा विश्वास गर्न बाध्य भएँ । विस्तारै त्यो माटो कमलो बनाएर उनको टाउकोको ड्रेसिङ गर्न मलाई करिव एक घण्टै लाग्यो ।
त्यो दृश्य अनि त्यहाँको माहोल । गाँउलेको कहानी अनि अर्को तितो सत्य, महाभूकम्प गएको सत्रौ दिन वितिसक्दा पनि शहरी भेगका पिडितले उच्च प्राबिधिक उपचार पाइसक्दा यता विकटमा भने प्राथमिक उपचार पनि पर्याप्त थिएन। उही दुःख, उही पिडा तर पँहुचका कारण यो अन्याय । सरकारी व्यबस्थापन, भौगोलिक कठिनता वा लाचारीपन, खै कसरी ब्याख्या गरौ । यस्ता हजारौ कहानीहरु छन यो त एउटा उदाहरण मात्रै हो ।
आफुले सकेको सेवा र सहयोग दिदादिदैं बेलुकीको ५ बजिसकेछ । मानिसहरु आ–आफ्नो राहत लिएर अस्थाई बासस्थानतर्फ लागे । हामी सामान मिलाएर ट्रकको पछाडी बसेर फेरी उही साँघुरो कच्ची सडक हुदै काठमाडौतर्फ लाग्यौ । पानी परिरहेको थियो । कच्ची तथा उकालो भएकाले गाडी उल्टोतिरै चिप्लन थाल्यो । सबैजना ओर्लिएर पछाडीबाट धकेल्यौ । चालकले पनि सक्दो सिप लगाए । बल्लतल्ल गाडी उत्रियो । भूकम्पमा जोगिएको ज्यान फेरी अर्को पटक जोगिएको आभास भयो । भगवानप्रति धन्य हुदै बेलुकी काठमाडौ पुगियो ।
बिहान सबेरै उठेर आफु अध्यापनरत नर्सिङ कलेज पुगे । आफु हेड अफ डिपार्टमेण्ट भएका कारण पनि समयमै पुग्न जरुरी थियो । सातबजे कलेज पुगे र बिएस्सी नर्सिफोर्थ इयरका क्लास लिइसकेर त्यसै दिन परेको अन्तराष्ट्रिय नर्सिङ दिवस मनाउने तयारीमा के लागेको थिए । परकम्पन आयो र कलेजका झ्याल ढोका थर्कन थाले । सबैजना आत्तिदै बाहिर निस्कियौ । किनारमा छचल्किरहेको बाग्मती नियाल्दै गर्दा त्रासदी घुमिनैरहयो ।
मैले काम गर्ने अस्पताल । हिजो भर्खर दोलखामा भेटेका बिरामीहरु, अनि पहिलो भूकम्पले घाइते पिडितहरु अनि मानसिक तनावमा रहेका तमा नेपाली मनहरुलाई सम्झिरहे । प्रार्थना गरे, यो पटकको पिडा कम होस भनेर तर केही बेरमै एउटा फोन आयो ममीको । रुदै कामिरहेको स्वरमा भन्नुभयो –“छोरी यहाँ त फेरी ठुलो भुईचालो गयो । हाम्रो घर पनि ढल्यो । तेरो ड्याडीलाई मैले तानेर बाहिर निकाले । धन्न बाँचियो ।” मेरो शरिर चिसो भयो । म मुर्ति झैं भए । ठिंग उभिएको थाहा छ तर के बोले, के भइरहेको छ केही अन्दाज भएन । यो थियो बैशाख २९, २०७२ को दोश्रो ठुलो भूकम्प । जसको केन्द्र दोलखा भएकाले दोलखाका धेरै घरहरु ढले ।
त्यो समय । त्यो घडी । अहिले सम्झिन्छु, कसरी हामीले पार गर्यौ । आज आफ्नो आमा बुबा संग सात समुन्द्रपारीबाट मेसेन्जरमा गफ गर्दा पनि हर्षले त्यो संकट भुलाइदिन्छ । यो मजस्तै हरेक नेपालीको भोगाई हो । मानसपटलमा सधैं रहिरहन्छ र हामीलाई लडेर पनि फेरी उठेर हिडन सिकाउछ ।
त्यस समयमा मृत्युवरण गर्ने दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दछु र पिडित परिवार, आफन्त अनि बाँच्न सफल सवैसवैमा नयाँ जीवन सार्थक बनोस भन्ने शुभकामना दिन चाहन्छु ।
जय नेपाल !
(भूकम्पका समयमा नेपालमा कार्यरत लेखक पोखराविश्वबिद्यालयबाट नर्सिङ बिज्ञान स्नातक तह र त्रिभुवन विश्वविद्यालयमा बालविकास विषयमा स्नातकोत्तर तहमा गोल्ड मेडलिष्ट हुनुहुन्छ भने हाल क्यानाडामा पोष्ट ग्र्याजुयसन पश्चात त्यही स्थित एक स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्छ ।)