नेप्लिज अमेरिकन हेरिटेज डेमा नेपालका लागि पूर्व राजदुत डेलेसी र वरिष्ठ लोकगायक महत सम्मानित


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

विजय थापा 

अमेरिकाको भर्जिनियाको हर्नडन शहरमा पहिलो पटक आयोजना गरिएको नेप्लिज अमेरिकन हेरिटेज डे अर्थात् नेपाली अमेरिकन सम्पदा दिवस ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।

उक्त दिवसमा नेपालका लागि पूर्व राजदुत स्कट डेलेसी तथा प्रसिद्ध वरिष्ठ लोक गायक प्रेम राजा महतलाई सम्मान गरिएको छ । गत अप्रिल २० तारिखका दिन सम्पन्न नेप्लिज अमेरिकन हेरिटेज डे हर्नडन शहरको हर्नडन माध्यमिक बिद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली अमेरिकन सम्पदा दिवस तथा नेपाली नयॉ वर्ष २०७६ कार्यक्रम भव्यताको साथ समूदायको सहभागितामा समापन गरिएको छ । अमेरिकाको विभिन्न स्थानमा नेपाल दिवस मनाउने क्रम बढ्दो र उत्तर अमेरिका कै सर्वाधिक पुरानो संस्था अमेरिका नेपाल सोसाइटीले पनि डिसी महानगर क्षेत्र मै हेरिटेज मनाउदै आई रहेको अवस्थामा प्रथम पटक भर्जिनियाको हर्नडन शहरमा नेप्लिज अमेरिकन हेरिटेज डे मनाएको छ ।

अमेरिकामा नेपाली मूलका नेपालीहरु अमेरिकी राजनीतिको मूलप्रवाहमा प्रवेश गरिरहेको अवस्थामा सन् २०१८ को चुनावमा प्रदीप ढकाल हर्नडन शहरको परिषद सदस्यमा निर्वाचित भएपछि ढकालको पहलमा हर्नडन शहरले हरेक वर्ष अप्रिलको तेस्रो हप्ता नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने निर्णय गरे अनुसार प्रथम नेप्लिज अमेरिकन हेरिटेज डे सफलता पूर्वक सम्पन्न भएको हो ।

उक्त दिवसमा नेप्लिज अमेरिकन हेरिटेज डे  को घोषणा भएको समेत पत्र पढेर सुनाईएको थियो । उक्त घोषणा पत्र आदर्श नेपाली समाजका सकृय सदस्य एवं एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुबेदीले बुझेका थिए ।

कार्यक्रममा सम्मानित भए पछि नेपालका लागि पूर्व राजदुत स्कट डेलेसी तथा लोकप्रिय वरिष्ठ गायक तथा महा बाणिज्यदुत प्रेम राजा महत ,हर्नडन नगर परिषद सदस्सी प्रदिप ढकाल तथा मेरिल्याण्ड राज्यका लागि बिधान सभा सदस्य एचपी ह्यारी भण्डारीले मन्तब्य राखेका थिए ।

अमेरिकन पूर्व राजदुत डेलेसीलाई अमेरिकामा रहेता पनि नेपाललाई माया गर्ने र अहिले सम्म नेपाललाई निरन्तर रुपमा बिभिन्न सहयोग र साथ दिदै गैर मुनाफा संस्था सोरवे फाउन्डेसन (प्रतिष्ठान) मार्फत सहयोग गरि रहेको,नेपाल र अमेरिका बीच पुलको काम गरि बिशेष योगदान गरेकोमा सम्मान गरिएको हो ।

यसै गरि नेपालबाट अमेरिका आएता पनि नेपाली कला संस्कृतिलाई जगेर्ना तथा अमेरिकन लोक संस्कृतिलाई समेत नेपाली समुदायमा पुराउने, दुई देश बीच रहेको लोक संस्कृति सम्बन्ध विस्तार र वृद्धि गर्ने काम तथा अतुलनीय योगदान गरे वापत सम्मान गरिएको हो ।

डेलेसी तथा महतलाई आदर्श नेपाली समाज एवं एनआरएनए भर्जिनिया शाखाका सभापति अर्जुन सिग्देल तथा गोविन्द सुबेदीले सम्मानपत्र प्रदान गरेका थिए । साथै समाजका सदस्य परशुराम भण्डारीले डेलेसी तथा महतलाई खादा लगाई सम्मान गरेका थिए ।

कार्यक्रममा पहिलो पटक नेपाली परम्परागत दुर्लभ संगिनी गीत तथा नृत्य श्रीओम कृतन मण्डलीका नेपाली महिलाहरुले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल झल्काउने विविध झॉकी, लाखे नाच ,सॉस्कृतिक कार्यक्रम अवलोकन गर्न हर्नडनका नगर प्रमुख ,वर्तमान र पूर्व पदाधिकारीहरु ,नेपाली मूलका अमेरिकन मूलधारमा प्रवेश गर्ने ह्यारी भण्डारी ,हे मार्केट शहरका नगर परिषद सदस्य मधु पन्थी ,नेपाली समुदायका विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । सभा कक्ष खचाखच भरिएको थियो भने कार्यकममा रात्री भोजनको व्यवस्था समेत गरिएको थियो ।

कार्यक्रमको आयोजना आदर्श नेपाली समाज एवं एनआरएनए भर्जिनिया शाखाले गरेको थियो भने उक्त समारोहमा नेपाली समूदायले नेपाली भेषभूषा र संस्कृति झल्किने पहिरनहरु लगाएर आएका थिए ।

कार्यक्रम संचालन आरती पराजुली सिग्देल तथा राजेश छेत्रीले गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com