रोजगारीका लागि भनि भारत लैजाँदै गरिएका २८ बालकको उद्धार
प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार

महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ। चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नैइ लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन्।
ती बालक गत चैत १४ गते भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नैइमा रोजगारीका लागि लैजान लागिएका क्रममा भारतको सीतामढी प्रशासनले नियन्त्रणमा लिएका थिए।
सीतामढी प्रशासनले ती बालकलाई महोत्तरी सीमानाका भिट्ठामोडमा नेपाललाई हस्तान्तरण गरेको प्रजि ढकालले बताए। चेन्नैइमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिराहाका तीन र सर्लाहीका दुई जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो।
१५ देखि १७ वर्ष उमेरका ती बालकमध्ये दलित समुदायका २३, चार जना यादव र एक जना मुस्लिम समुदायको रहेका छन्। बाल कल्याण समितिले ती बालकलाई जनकपुर लगेको छ।