को बन्ला कास्की २ मा रवीन्द्रको उत्तराधिकारी ?


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

कास्की क्षेत्र नम्बर २ का सांसद तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र खाली भएको छ ।

सरकारले उपनिर्वाचनको मिति घोषणा गरेको त छैन तर सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा परिचर्चा सुरु भइसकेको छ ।

सम्भावित उम्मेदवारको रुपमा उनकै पत्नी विद्या भट्टराई, नेकपा सचिवालय सदस्य बामदेव गौतमदेखि जिल्लाका नेतासम्मको नाम चर्चामा छन् । तर वामदेवले भने आफू नउठ्ने र रवीन्द्रको परिवारलाई प्राथमिकता दिइनुपर्ने स्पष्ट पारिसकेका छन् ।

आजको नयाँ पत्रिका दैनिकले सम्भावित उम्मेदवारमा विद्या भट्टराई, सोमनाथ अधिकारी प्यासी, धनराज आचार्य, तुलबहादुर गुरुङ र रश्मी आचार्यको नाम बढी चर्चामा रहेको खबर छापेको छ । यद्यपी विद्याले आफू उम्मेदवार नबन्ने संकेत गरेकी छिन् । बामदेवले पनि आँफू उम्मेदवार बन्न नसक्ने सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिसकेका छन् ।

यो अवस्थामा सबैभन्दा बढी सम्भावना सोमनाथ अधिकारीको रहने नेकपा भित्रैका नेताहरु बताउँछन् । नेकपा केन्द्रिय सदस्य राजकाजी गुरुङ करणले पनि दावी गर्न सक्नेछन् । उनी यसअघि यही निर्वाचन क्षेत्रको (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए ।

काँग्रेस उम्मेदवार विन्दुकुमार थापासँग पराजीत उनी यसपटक प्रतिनिधिसभामा उम्मेदवार बन्न सक्ने आँकलन नेकपा भित्रै भैरहेको छ ।

प्रमुख निर्वाचन आयुक्तमा प्रश्तावित दिनेशकुमार थपलियाले ३ महिनाभित्रै सबै रिक्त पदमा चुनाव गराउने प्रतिबद्धता जनाएका छन् । यसको मतलव नयाँ आर्थिक बर्ष नलाग्दै यहाँ चुनाव हुने सम्भावना छ । नेपाली काँग्रेसभित्र पनि उम्मेदवारको चर्चा सुरु भएको छ ।

अधिकारीसँग पराजीत यसअघिकै उम्मेदवार देवराज चालिसे पुनः उम्मेदवार बन्ने सम्भावना प्रवल छ । यद्यपी नयाँ उम्मेदवार खोज्नुपर्ने वहस पनि काँग्रेसभित्र भैरहेको छ ।

चालिसेको विकल्पमा नेता वीरेन्द्रनारायण विजुक्छे, सोभियतबहादुर अधिकारीको नाम पनि अगाडी छ । विजुक्छे हालका पार्टी सभापति शेरबहादुर देउवा निकट भएकाले पनि उनले टिकट पाउने सम्भावना धेरै रहेको उनी मार्काका नेताहरुको विश्लेषण छ । तर चालिसेलाई पनि धेरै नेताहरुको सहानुभुति रहेकोले उनले टिकट पाउने सम्भावना पनि उत्तिकै छ ।

श्रोतका अनुसार पहिलो, दोश्रो र तेश्रो गरेर उम्मेदवारको छलफल भएको छैन । तर तीनैजनाको सम्भावना उत्तिकै छ । यसबाहेक अन्य उम्मेदवार अघि सर्न सक्ने सम्भावना पनि छ । ति नामहरु चाहीँ सार्वजनिक गरिएका छैनन् ।

नयाँ पत्रिकाबाट साभार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com