प्रधानमन्त्री ओली नवलपुर आउने भएपछि सुरक्षा व्यवस्था कडा, विप्लवको बन्द फिर्ता


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली नवलपुर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

नवलपुरको सदरमुकामका रुपमा रहेको कावसोतीमा आवश्यक सरकारी कार्यालयहरू एकीकृत रुपमा स्थापनाको लागि शिलन्यास गर्न शनिबार प्रधामन्त्री ओली नवलपुरको सदरमुकाम कावासोती आउदै हुनुहुन्छ ।

एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र संघ अन्तर्गतका कार्यालयहरू स्थापना गर्ने योजना अनुसार प्रधानमन्त्री ओली शिलन्यासका लागि भोलि कावासोती आउने प्रतिनिधिसभा सदस्य तिलक महतले जानकारी दिनु भएको छ ।

केही समय अघिमात्र साँसद महतकै पहलमा नेपाल सरकारको नाममा ल्याइएको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित जग्गामा जिल्लामा आवश्यक पर्ने सरकारी कार्यालयहरू स्थापना गरिने भएको हो ।

एकीकृत रुपमा कार्यालय व्यवस्थापन गर्दा नागरिकहरुले एकै स्थानबाट सबै सेवाहरू सहज रुपमा लिन सक्ने भएकाले अहिले छरिएर रहेका सरकारी कार्यालयहरु एकै ठाउँमा व्यवस्थित गर्न लागिएको साँसद महतले बताउनु भयो ।

भोलि प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सभा अध्यक्ष, अर्थमन्त्री, भौतीक पूर्वाधार मन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका नेताहरु कावासोती आउने कार्यक्रम छ । प्रधानमन्त्री सहितका शिर्ष नेताहरु कावासोती आउनेभएपछि जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

जिल्ला सुरक्षा संयन्त्रको बैठकले प्रधानमन्त्री लगायतको सुरक्षामा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लाका विभिन्न ठाउँमा सादा पोशाकका प्रहरी परिचालन गरिनुका साथै तिनै तहका सुरक्षा निकायले सुरक्षा दिनेछन् ।

विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री पुग्ने जिल्ला बन्द गर्ने पूर्व्निर्धा्रित कार्यक्रम भने नवलपुरमा स्थगित गरेको छ । बिहिबार मात्रै बन्द गरिएकाले सर्वसाधारणलाई थप मर्का हुने भन्दै शनिबार नवलपुर बन्द नगरिने पार्टीले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com