नेपाली स्याटेलाइट बोकेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतिर यान, ‘नेपाल अन्तरिक्ष युगमा प्रवेश’- ओली
प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

नेपालको आफ्नै पहिलो स्याटेलाइट स्थापनाका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ उडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रक्षेपणलाई उपलब्धिको रूपमा प्रस्तुत गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले यो प्रक्षेपणमा संलग्न बैंज्ञानिक लगायत सबैलाई धन्यवाद दिएका छन् ।
न्युयोर्क समय अनुशार आज दिउसो ४ बजेर ४५ मिनेट जाँदा नेपालको आफ्नै पहिलो स्याटेलाइट सहित ७६ सय पाउण्ड सामाग्रीहरु बोकेर यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतिर उडेको थियो । अन्तरिक्ष यान न्युयोर्क समय अनुशार शुक्रबार विहान साढे ५ बजे पुग्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका कर्मचारीहरुका लागि आवश्यक शोध, सप्लाइ र हार्डवेयर सामाग्रीहरु बोकेर यान त्यसतर्फ उडेको हो । यानले नेपाल, जापान र श्रृलंकाका स्याटेलाइटका लागि आवश्यक सामाग्रीहरु बोकेर उडेको छ ।
नेपाली स्याट वान नाम दिइएको नेपाली भूउपग्रहलाई एन्टोरस नामको अन्तरिक्ष यानमा रहेको सिग्नस कार्गो बिमानले बोकेको छ । सानै आकारको भए पनि नेपाली स्याटेलाइट प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले खुशी व्यक्त गरिरहेका छन्।
अन्तरिक्ष यानमा ४० वटा जीवित मुसाहरु पनि पठाइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका ६ जना कर्मचारीहरुले यो सबै सामान प्राप्त गर्नेछन् ।
मुसाहरु भने एन्टी टिटानस भ्याक्सिनको प्रभावकारिता परिक्षणका लागि पठाइएको हो । २० वटा मुसालई अन्तरिक्षमा भ्याक्सिन दिइनेछ भने अरु २० वटालाई दिइनेछैन । पृथ्वीमा आइसकेपछि ती मुसाहरुले भ्याक्सिनमा कस्तो प्रतिकृया जनाउनेछन् भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान गर्नेछन् ।